कमल पराजुली/ उज्यालो । काठमाडौं, साउन ३ – एकजना नेपालीको भागमा ऋणको भार
झण्डै १९ हजार पुगेको छ । सरकारले वैदेशिक र आन्तरिक गरि लिएको ऋणको
प्रतिव्यक्ति भाग लगाउँदा एकजनालाई १८ हजार ८ सय ६६ रुपैयाँ ८० पैसा ऋणको
भार परेको छ ।
गत वर्ष प्रतिव्यक्ति यस्तो ऋण १३ हजारको हाराहारीमा थियो । गत आर्थिक
वर्षको अन्त्यसम्ममा सरकारले तिर्न बाँकी रहेको ऋण ५ खर्ब ९ अर्ब ५० करोड
पुगेको छ । यसमध्ये ३ खर्ब ८ अर्ब १० करोड बैदेशिक र २ खर्ब १ अर्ब ५० करोड
आन्तरिक ऋण रहेको अर्थमन्त्रालयले जनाएको छ । यो नेपालको कुल गार्हस्थ
उत्पादन १५ खर्ब ५८ अर्बको ३२.७ प्रतिशत हुन आउँछ ।
यसैबीच प्रत्येक बर्ष नेपाललाई बैदेशिक सहयोगको प्रतिबद्धता भने बढ्दै
गएको छ । अर्थ सचिव कृष्णहरी बास्कोटाका अनुसार गत बर्ष नेपाललाई १ खर्ब ७
अर्ब ५६ करोडको बैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । अघिल्लो
आर्थिक बर्षमा यस्तो प्रतिबद्धता १ खर्ब थियो भने त्यो भन्दा अघिल्लो बर्ष
९६ अर्बको मात्रै बैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको थियो । सहयोग
प्रतिबद्धता बढेपनि सरकारले बैदेशिक खर्च गर्न भने सकेको छैन ।
गत बर्ष ५६ अर्ब ९३ करोडको अनुदान प्रतिबद्धता भएपनि असार अन्तिम साता
सम्मको तथ्यांक अनुसार सरकारले ४२ अर्ब मात्रै खर्च गरेको छ भने ५० अर्ब ६२
करोड ऋण प्रतिबद्धता प्राप्त भएकोमा ५ अर्ब मात्रै खर्च भएको छ ।
नेपाललाई सहयोग गर्ने देशहरुमा भारत सबैभन्दा अगाडि छ । त्यस्तै चीन,
जापान, बेलायत र स्विजरल्याण्ड पनि नेपाललाई धेरै सहयोग गर्ने दातृराष्टमा
पर्दछन् । नेपालले सबैभन्दा धेरै ऋण तिर्न बाँकी भएका देशहरु भारत र चीन
हुन् ।
अनुदान धेरै दिने देशहरुमा भने जापान, चीन, बेलायत, स्विजरल्याण्ड र नर्बे
छन् । त्यस्तै नेपालालाई सहयोग गर्ने संस्थाहरुमा एसियाली बिकास बैंक,
विश्व बैंक, ओपेक फाड, युरोपेली संघ र जलवायु सम्बन्धी लगानी कोष गरि १३
छन् ।








0 comments:
Post a Comment