पोखरा, साउन ११ –
लागत बढी भएको बाहानामा पोखरामा बन्न लागेको क्षेत्रिय अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणमा अवरोध गर्न खोजेको भन्दै बिमानस्थल निर्माण सरोकार समिति पोखराले दबाब दिने भएको छ ।
समितिले बिहीबार दिउँसो बृहत छलफल गरी दबाबका कार्यक्रमहरु बनाउने दबाब समूहका संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिनुभयो । नागरिक उड्ययन प्राधिकरणका कर्मचारीहरुले ठूलो लागत थेग्न नसक्ने भन्दै विरोध गरेपछि पोखरेलीहरुले विमानस्थल निर्माणमा अवरोध हुने आशंका गर्न थालेका हुन् । रकम सहयोग गर्ने चीन तथा नेपाल सरकार समेत सकारात्मक हुदाँहुदै कर्मचारीहरुले विरोध गर्नु आपत्तिजनक भएको संयोजक श्रेष्ठको भनाई छ ।
पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयमा प्राधिकरण व्यवस्थापन र कर्मचारीबीच विवाद छ । व्यवस्थापनले निर्माण ठेक्का रद्द नगरे आन्दोलनमा उत्रिने चेतावनी कर्मचारीले दिएका छन् ।
कर्मचारीले यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि दिइसकेका छन् । विमानस्थल निर्माण गर्न आह्वान गरिएको टेन्डरमा चीनका तीन कम्पनीमात्र योग्य भएको र त्यसमा सबैभन्दा सस्तो प्रस्ताव गर्ने चाइना सिएएमसी कम्पनी लिमिटेड छ ।
उसले ३० करोड ५० लाख अमेरिकी डलर अर्थात २७ अर्ब रुपैयाँ लागतमा विमानस्थल निर्माण गर्ने प्रस्ताव राखेको छ । प्राधिकरणले भने १२ अर्ब रुपैयाँमा विमानस्थल निर्माण गर्ने अुनमान गरेको थियो । अर्थ मन्त्रालयले चीनको एक्जिम बैंकबाट लिने सहुलियत ऋणलाई प्राधिकरणले ८ प्रतिशत ब्याज दरमा लिन लागेको हो । एउटै परियोजनामा २७ अर्ब खर्च गर्नु भनेको संस्था डुबाउने खेल भएको भन्दै कर्मचारीहरुले विरोध गरेका हुन् ।
0 comments:
Post a Comment