काठमाडौ, साउन ११ –
काठमाडौ उपत्यकामा रात्री बस सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । रात्रीकालीन बसमा एकरुपताका लागि एउटै रंग बनाउने, सडक बत्तिको व्यवस्था गर्ने काम लगभग सकिन लागेको रात्री बस सञ्चालन तथा व्यवस्थापन कार्यदलका सदस्य धर्म रिमालले जानकारी दिनुभयो ।
राती चल्ने बसहरुमा सुरक्षाका लागि सिसिटिभी क्यामरा राख्ने तथा सुरक्षाकर्मीको व्यवस्था गर्ने विषयमा पनि आवश्यक प्रक्रिया अघि बढिसकेको भन्दै उहाँले साउनको २५ गतेसम्म सबै काम पूरा गर्ने गरी तयारी भईरहेको बताउनुभयो ।
काठमाडौ महानगरपालिकाको अवधारणा अनुसार भदौ १ गतेदेखि उपत्यकामा रात्रीबस सञ्चालनका लागि यातायात व्यवसायी, सुरक्षा निकाय लगायतका विषयमा गएको असारमा सम्झौता भएपछि बस सञ्चालन प्रक्रिया शुरु गरिएको हो । परीक्षणका लागि शुरुका ६ महिना बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने र सफल भए समय बढाउने गरी तयारी गरिएको महानगरपालिकाले जनाएको छ ।
शुरुमा चक्रपथ तथा मुख्य ठाउँहरुलाई लक्षित गरी रत्नपार्कलाई मुख्यविन्दु बनाएर १४ वटा बस सञ्चालन गरिने छ । पहिलो चरणमा रत्नपार्कबाट कलंकी, लगनखेल, कोटेश्वर, बौद्ध, गोंगबु लगायत रुट र चक्रपथमा रात्री बस चल्नेछन् । सुरक्षा, यात्रु तथा चालकको सुविधालाई हेरेर बस सञ्चालनको निश्चित मापदण्ड तोकिएको छ ।
राती ८ देखि ११ बजेसम्म एकजना यात्रु नभएको अवस्थामा पनि तोकिएको रुटमा गाडी चल्नैपर्ने, निश्चित समयमा, तोकिएको स्टपमा पुगी यात्रु ओराल्ने चढाउनुपर्ने सम्झौता भएको महानगरपालिकाले जनाएको छ । यसोगर्दा घाटा हुने भन्दै व्यवसायीले आग्रह गरेपछि महानगरपालिकाले शुरुको ६ महिनाका लागि ४५ लाख रुपैंया उपलब्ध गराउने छ ।
0 comments:
Post a Comment