काठमाडौ, साउन ९ – वर्षे फलफूलको व्यवसायिक खेती गर्ने किसानलाई यही
महिनाको १५ भित्रमा बिरुवा लगाईसक्न विज्ञले सुझाब दिएका छन् । तराई र
मध्यपहाडमा खेती हुने बर्षे फलफूलका बिरुवा हुर्काउन मनसुनको भर पर्नुपर्ने
भएकाले छिटो लगाउन उपयुक्त हुने फलफुल बिकास निर्देशनालयका फलफुल बिकास
अधिकृत द्रोणराज काफ्लेले बताउनुभयो ।
उहाँका अनुसार मनसुनको मध्यसम्ममा बिरुवा लगाउँदा राम्रोसँग जरा फैलन
पाउँछ । तर मनसुन सकिन लाग्दा रोपिएका बिरुवामा सिंचाई नपुग्दा जरा
राम्रोसँग टेक्दैनन् र हिउँदको अन्त्यतिर बिरुवा मर्ने समस्या देखिने
काफ्लेको भनाई छ । तर सिंचाई पुगेका क्षेत्रमा भने साउनको अन्तिमसम्म
बिरुवा लगाउँदा फरक नपर्ने उहाँले बताउनुभयो ।
तराई क्षेत्रमा अहिले आँप, लिची, कटहर, केरा, मेवा, अम्बा र मध्यपहाड
क्षेत्रमा सुन्तला, भोगटे, कागती, बिमिरो, जुनार लगायतका फलफूलका बिरुवा
लगाउने समय हो । व्यबसायिक कार्यक्रम लागू भएका जिल्लामा सरकारले बिरुवामा
५० प्रतिशत शुल्क र वागवानी औजार अनुदानस्वरुप उपलब्ध गराउँदै आएको छ ।
स्थानीय फार्म केन्द्र र जिल्ला कृषि बिकास कार्यालयले व्यबसायिक खेती गर्न
चाहने किसानलाई निःशुल्क परामर्श र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएका
छन् ।
0 comments:
Post a Comment