ट्राफिक व्यवस्था अस्तव्यस्त
२१ फागुन, काठमाडौं । चार वर्षअघि संविधानसभा चुनावको प्रचारप्रसारलाई झल्को दिने गरी राजधानीमा आईतबार एमालेले भव्य जनप्रदर्शन र सभाको आयोजना गरेको छ । देशका ठाउँठाउँबाट आएका नेता कार्यकर्ता समेतको उपस्थितिले राजधानीलाई एमालेमय बनाएको छ । हँसिया हथौडा र सूर्य अंकित झण्डा सहित एमाले कार्यकर्ताहरुले राष्ट्रिय झण्डाको पनि प्रदर्शन गरेका छन् । बाजागाजा, झाँकी र नृत्य सहितको र्यालीले प्रदर्शनलाई झन् आकर्षण थपेको छ ।
कलंकी, कोटेश्वर, गौशाला, सातदोबाटो, गौशाला, चाबहिल लगायतका नाकाबाट बिहान ११ बजेदेखि नै शुरु भएको र्यालीले उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनाएको छ । बाहिरबाट जुलुस सहित आएका गाडीलाई चक्रपथमै रोकेर कार्यकर्ताहरु जुलुसमा सहभागी भएका छन् । जुलुस एकैपटक अगाडि बढेर खुलामञ्चमा केन्दि्रत भएको हो । अहिले जुलुस खुलामञ्च आउने क्रम चलिरहेको छ । खुलामञ्च र रत्नपार्कमा मान्छे खचाखच भरिएका छन् भने झण्डा र ब्यानर सहितका प्रदर्शनकारीका कारण त्यस क्षेत्र झकिझकाउ देखिएको छ । धेरै कार्यकर्ताले लगाएका कपडामा पनि सूर्य र हँसिया हथौडाको चित्र बनाइएको देखिन्छ । दिउसोको उखरमाउलो गर्मीमा समेत नेताहरुका भाषण सुन्न कार्यकर्ता उत्सुकताका साथ खुलामञ्चमा जम्मा भएका छन् । एमालेले आजको प्रदर्शनमा दुईलाख कार्यकर्ता उतार्ने दावी गरेको छ ।
जुलुस खुलामञ्चमा जम्मा हुने क्रम चलिरहेकोले सभा शुरु हुन ढिलाई भएको छ । केहीबेरपछि शुरु हुने सभालाई अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, केपी शर्मा ओली लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
0 comments:
Post a Comment