मिलन चौतारी
संविधानसभाको बैठक एकछिन बस्ने, उतिखेरै उठ्ने, हाँसीमजाक कुरा मात्रै हुने, तर निर्णय केही नहुने भएपछि विवादित विषयमा सहमति खोज्ने जिम्मा तीन दलका तीन शीर्ष नेताहरुलाई दिईयो । तीन नेताहरुलाई फूमन्तर गरेर सबै विवाद मिलाउँछन् भन्ने पत्यार त कसैलाई पनि थिएन । त्यसमाथि तीन दलको काम गराईको पारा सबैलाई राम्रैसित थाहा थियो । विवाद मिल्न नसेको अरुको कारण होइन, तिनै तीन दलका शीर्ष नेताहरु नै हुन् । समितिमा बसेपनि छुट्टै बसेपनि उनीहरुबीच सहमति नहुँदासम्म केही कुरा अघि बढ्दैन । तैपनि एउटा प्रयोग गरिटोपल्नुथियो, त्यही भयो । तीन दलका तीन नेताहरुले विवादित विषयमा सहमति खोज्नको लागि काम बाँडफाँड भयो ।
आफ्नो थाप्लोमा जिम्मेवारी पाएपछि त मान्छे अरु सबथोक छाडेर त्यही काममा मात्रै ध्यान दिन्छ । झिनामसिना काममा लाग्दैन । जिम्मामा आएको मुख्य काम कसरी फत्ते गर्ने भन्ने ध्याउन्नमा लाग्छ । आफ्नो जिम्मामा आएको काम छाडेर अन्त लाग्न उसलाई फुर्सद नै हुँदैन । तर आआफ्नो भागमा परेको काममा भन्दा नेताहरुको ध्यान अन्तै छ । पहिले जस्ता थिए, अहिले पनि उस्तै छन् ।
हुन त अहिले गरेको बाँडफाँड पहिलेेदेखिकै जिम्मेवारी काम हो । पहिले सामुहिक रुपमा गर्नुपर्ने थियो, अहिले भाग लगाएको मात्र । त्यसमाथि एउटाको जिम्मेवारीमा अर्कोको भूमिका नै हुन्न भन्ने होइन । प्रचण्डको भागमा परेको शान्ति प्रकृयाको कामले सुशील र झलनाथलाई पनि छुन्छ । सुशील र झलनाथको कामले प्रचण्डको पनि सम्बन्ध राख्छ । अर्थात तीनै जनाले आआफ्नो भागमा परेको काम गर्दा अर्कोको चित्त बुझ्छ कि बुझ्दैन भनेर ख्याल गर्नुपर्ने हुन्छ । त्यसैले यो जिम्मेवारी झनै महत्वपूर्ण र जटिल छ ।
तर नेताहरुले यति ठूलो महत्वको जिम्मेवारीलाई पनि हावा पारामा लिएका छन् । डेढहप्तासम्म त यिनले केही नै गरेनन् भन्दा पनि हुन्छ । प्रचण्डको एउटा प्रस्तावमा त सहमति भयो, तर खनाल र सुशीलले लिखित प्रस्ताव नै बुझाएका छैनन् । त्यसमाथि एमालेमा पहिले माधव नेपालले जिम्मेवारी पाएका थिए । अहिले उनको जिम्मेवारी खनालले लिएका छन् । त्यहींभित्रै छ टकराव । दुई नेताको हानथापका कारण सहमतिको प्रस्ताव कसले लेख्ने भन्ने विवाद हुनै नै भयो । उता कांग्रेसका सुशीललाई लेख्ने भनेको साह्रै अल्छीलाग्दो काम । जसरी पनि गर्नैपर्ने बाध्यता भएको भए सहयोगीहरुबाट भएपनि गराउँथे होला । तर गरेपनि हुने नगरेपनि हुने भएपछि किन टाउको दुखाइरहने ? त्यसैले यिनीहरु पहिले जुन ठाउँमा थिए, अहिले पनि त्यहीं छन् ।
कुखुरा पहिले कि चल्ला भन्ने पारामा यिनीहरु अझै शान्ति कि संविधान भनेर दोहोरी गाइरहेका छन् । छिटै विवाद मिलाएर अड्किएको काम अघि बढाउनुपर्ने हो । तर काम गर्नुपर्ने जिम्मेवारी पाएका नेताहरु थाल्न लागेको काम पनि बीचमै छाडेर मेला, महोत्सवको रमझममा लागेका छन् । बिहीबार शीर्ष बैठक छोडेर प्रचण्ड र प्रधानमन्त्री लुम्बिनी हानिए । प्रधानमन्त्री अझै बाहिरी जिल्लाकै दौडधूपमा व्यस्त छन् । प्रचण्ड र खनाल पनि भाषण गर्न यताउता कुदिरहेकै छन् । त्यसमाथि एमालेलाई अहिले आन्तरिक भेलाकै चटारो छ । उसै त अल्छी त्यसमाथि बरालिने मति । काम कुरो एकातिर छाडेर कुम्लो बोकी अर्कैतिर दौडिएका अल्छी नेताहरुको यही पाराले फेरि पनि बेलैमा संविधान बन्छ भनेर कसरी पत्याउने र खै ?
0 comments:
Post a Comment