विपक्षीको चुरीफुरी पनि सेलाउँदै
१ साउन, काठमाडौं । संविधानसभा बिघटन
भएदेखि एकहोरो प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा माग्दै आएका
कांग्रेस-एमाले लगायतका विपक्षी दलहरु यतिबेला भने थाकेर लखतरान परेका छन् ।
केही दिनअघिसम्म के-के न गर्छौं भनेर उनीहरुले मोर्चाबन्दी सहित निकै
चुरीफुरी गरे । खुल्ला मञ्चमा भाषण गरे । सरकारबिरुद्ध आन्दोलनको घोषणा पनि
गरे । बिदेश जान लाग्दा विमानस्थलमा गएर छेके । र्फकंदा पनि उसैगरी हैरान
बनाए । बालुवाटार र सिंहदरबारबाट भट्टराई निस्कँदा कालो झण्डा फहराउँदै
दौडिए । बजेट ल्याउन दिन्नौं, भट्टराई र मन्त्रीहरु सहभागी कार्यक्रममा
अनुहार पनि देखाउँदैनौं भनेर घुर्की लगाए । तर, अहिले यी सबै चुरीफुरी र
घुर्की श्रृँखलाको अन्त्य जस्तै भएको छ ।
पहिले पूर्ण र पछि एक तृतीयाँश बजेट पनि
आउन नदिने भनेपनि एक तृतीयाँश बजेट ल्याउनको लागि सहमति जनाउन उनीहरु बाध्य
भए । विकल्प केही नहुँदा चुप लागेर बस्नु नै थियो, विपक्षीहरुले त्यही गरे
। पहिलेभन्दा अहिले विपक्षीहरु केही शान्त भएपनि बोल्ने ठाउँ पाउँदा
प्रधानमन्त्रीको राजीनामा माग्न चाहिं उनीहरुले बिर्सेका छैनन् । पूजाआजा
गर्दा श्री गणेशाय नमः भनेजस्तै भाषण शुरु गर्दा विपक्षी दलका नेताहरु
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने गर्छन् । राष्ट्रपतिले कामचलाउ
भइसकेको भनेर प्रष्ट पारिसकेको बाबुराम सरकारको एकोहोरो राजीनामा मागिरहेका
उनीहरु भट्टराई पछिको को चाहिं उनीहरु भन्दैनन् ।
केहीदिन पहिलेसम्म नयाँ प्रधानमन्त्रीमा
कांग्रेस सभापति सुशील कोइरालाको नाम चर्चामा थियो । पछि शेरबहादुर देउवा र
रामचन्द्र पौडेलको नाम पनि मिसियो । पालो कांग्रेसको भनेर एमाले लगायतका
अरु दलले भनेपछि प्रधानमन्त्रीको नाम टुंगो लगाउनुपर्ने कांग्रेस यो कि
त्यो, म कि तँ भनेर जोखना लगाउँदैछ । कांग्रेसले नाम नदिए हामी ओलीलाई
सार्छौं भनेर एमालेका एकथरीले अभियान थालिसके । आफ्नो घरको मन नपर्ने भन्दा
छिमेककै ठीक भन्ने पारामा कांग्रेसका अर्काथरी पनि केपी ओलीलाई अगाडि
सार्नुपर्ने मनस्थितिमा पुगेका छन् । तर भट्टराईपछि प्रधानमन्त्रीको
उम्मेद्वार यही हो भनेर चाहिं कसैले यकिन गरेर भन्न सकेका छैनन् ।
‘हाँस्यपात्र बनाउनु छैन’
सोझो हिसाबले बुझ्ने हो भने भट्टराईले
छोडेपछि अबको प्रधानमन्त्री को भन्ने निश्चित छैन । माओवादी, एमाले लगायतले
कांग्रेसको नाम लिएपनि कांग्रेसभित्र को प्रधानमन्त्री भन्ने निश्चित छैन ।
कांग्रेसको किचलोले आफ्नो भागमा आए ओलीलाई बनाउन सकिन्छ कि भन्ने एमालेका
केही नेताको चाहना मात्र हो । यो त्यति सजिलो छैन । ‘अहिले नयाँ
प्रधानमन्त्रीको नाम दिने बेला नै होइन’ कांग्रेस नेता डा. प्रकाशशरण महतले
भन्नुभयो -’प्रधानमन्त्रीको नाम दिने, तर भट्टराईले नछोड्ने हो भने त्यो
हाँस्यपात्र भन्दा अरु केही हुन्न ।’
एमालेका नेता युवराज ज्ञवालीको भनाई पनि
यस्तै छ । ‘ठाउँ खाली नगरिकन प्रधानमन्त्रीको नाम दिनु कुनै हालतमा उपयुक्त
हुँदैन, त्यो त हाँसोको पात्र बनाउनु मात्र हुन्छ’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीले पहिले ठाउँ छाड्नुपर्ने या माओवादी अध्यक्ष प्रचण्डले
भट्टराईलाई हटाउँछु, तपाईंहरु नाम दिनुस् भनेर प्रतिबद्धता जनाउनुपर्ने
विपक्षी दलहरुको भनाई छ । तर प्रचण्डले यसो भनिहाल्ने अवस्था छैन ।
प्रधानमन्त्रीको नाम दिन नसकेपनि विपक्षी
दलहरु प्रधानमन्त्रीको राजीनामा माग्न छाडेका छैनन् । उनीहरु यो महिनाको ७
गतेसम्म पर्ख र हेरको मनस्थितिमा छन् । सरकारले घोषणा गरेको मंसिर ७ मा
चुनाव हुन साउन ७ सम्म निर्वाचनलाई चाहिने ऐन, कानुन तयार पारिसक्नुपर्छ ।
तर त्यो बेलासम्म ऐन कानुन बन्ने अवस्था अहिलेसम्म देखिएको छैन । आफैंले
घोषणा गरेको चुनाव गराउन नसकेको अर्को निहुँमा प्रधानमन्त्रीमाथि दबाब
बढाउन सक्ने विपक्षी दलहरुको अनुमान छ ।
0 comments:
Post a Comment