आश गुरुङ/उज्यालो । लमजुङ, साउन २ – लमजुङ उदिपुरको आकाशेभीरदेखि
भोटेओडारको फूलबारीसम्म गरिएको सडक कालोपत्रे एक महिना नपुग्दै भत्किन
थालेको छ । वर्षायाममा कालोपत्रे गरिएको र गुणस्तरहीन सामान प्रयोग भएका
कारण सडक भत्किन थालेको हो ।
स्थानीय वासिन्दाको लगातारको दबाबपछि डुम्रे बेसीसहर सडकको यो खण्डमा
गरिएको कालोपत्रे ठाउँ–ठाउँमा उक्किएर खाल्डा पर्न सुरु भइसकेको छ ।
कालोपत्रे गर्न प्रयोग भएका गिट्टी र अलकत्राको गुणस्तरबारे पनि
स्थानीयस्तरमा टीकाटिप्पणी सुरु भएको छ ।
सडक मर्मत र कालोपत्रे गर्न चाहिने चिप्स गिट्टीसमेत नहालिएको र पहिले बेस
बनाउँदा प्रयोग भएका गिट्टी पनि गुणस्तरहीन भएकाले सडक भत्केको सडक
निर्माणका लागि दवाव दिन गठित समितिका अगुवा मोहनलाल श्रेष्ठले बताउनुभयो ।
काम शुरु भएको डेढ वर्षपछि मात्रै कालोपत्रे गरिएको सडकखण्डको काम सकिन
नपाई भत्कन थाल्नुलाई ठेकेदारको चरम लापारबाही र सडक डिभिजन कार्यालय तथा
अन्य सरोकारवाला निकायको बेवास्ता भन्दै स्थानीय वासिन्दा आक्रोशित समेत
भएका छन् ।
सडकमा वैशाखदेखि बेस निर्माणको काम गरी असार लागेपछि कालोपत्रे गरिएको
थियो । लामो समयसम्म धुवाँधुलो खाएर बस्न बाध्य सो सडक वरपरका बासिन्दालाई
सडक कालोपत्रे भएपछि राहत मिले पनि कम गुणस्तरका कारण छिट्टै सडक बिग्रन
थालेपछि स्थानीयवासीलाई फेरि धुलोले सताउने चिन्ताले पिरोल्न थालेको छ ।
0 comments:
Post a Comment