Join us on Facebook Follow us on Twitter

share

Click

Wednesday, July 25, 2012

पर्वतमा अझै ३० प्रतिशत रोपाँई बाँकी


दुर्गाप्रसाद शर्मा ।
 पर्वत, साउन ११–
 ढिलो गरी मनसुन शुरु भएकाले पर्वतमा अझै ३० प्रतिशत खेतमा रोपाँई हुन सकेको छैन । सिञ्चाईको सुविधा पुगेका ७० प्रतिशत खेतमा रोपाँई गरिसकिएको भएपनि आकासे पानीको भर पर्नुपर्ने र मकैवाली लगाएको खेतमा अझै रोपाँई हुन बाँकी रहेको कृषि कार्यालयले जनाएको छ । साउनको दोस्रो हप्तासम्म रोपाँई गर्न पुग्नेगरी पानी नआएकोमा किसानहरु चिन्तित छन् ।
कृषि कार्यालयका अनुसार गएको बर्ष साउनको पहिलो हप्तामा ९० प्रतिशत रोपाँई भैसकेको थियो । तर यस बर्ष मनसुन ढिलो गरी शुरु भएकाले रोपाँई सकिन अझै १० दिन लाग्ने कार्यालयका प्रमुख चन्द्रकान्त खनालले जानकारी दिनुभयो  ।
जिल्लाको मुख्य धान उत्पादन हुने क्षेत्रमा अझै पनि रोपाँई हुन सकेको छैन । कटुवाचौपारी, देविस्थान, मुडिकुवा, खानीगाउँ, बर्राचौर, त्रिवेणी, पाङ लगायतका क्षेत्रहरुमा रोपाई बल्ल शुरु भएको खनालले बताउनुभयो । ‘मकै लगाएका खेतमा अब १० दिनभित्र रोपाँई सकिन्छ’ उहाँले भन्नुभयो । खोला किनार र सिञ्चाई सुबिधा पुगेका केही खेतमा किसानहरुले असार महिनामै रोपाँई गरिसकेका छन् ।
उन्नत जातको धान लगाउनेहरुले असारमै रोपिसकेका छन् । स्थानीय जातको धान साउन १५ सम्ममा रोप्दा उत्पादनमा कुनै असर नपर्ने कार्यालयले जनाएको छ । पर्वतमा धान फल्ने ९ हजार २१ हेक्टर जमिन रहेको छ । त्यसमध्ये बाह्रै महिना सिञ्चाईको सुबिधा पुगेको ६ हजार ८ सय हेक्टर जमिन रहेको छ ।

0 comments:

Post a Comment