विमल विष्ट/उज्यालो । असार २९ – सुदुरपश्चिमको पहाडी जिल्ला डोटीमा झण्डै ८ सय जना एचआइभी संक्रमित भएको पाइएको छ । एचआइभी/एड्स समन्वय समिति डोटीले प्रकाशन गरेको ‘डोटेली एचआईभी सन्देश’ पत्रिका अनुसार चार सय ४१ महिला र तीन सय ३३ जना पुरmष एचआइभी संक्रमित छन् । जसमध्ये १४ बर्षमुनिका ३४ जना वालक र १८ जना वालिका रहेका छन् ।
जिल्लाका १८ हजार ५ सय ८५ जनाले स्वेच्छिक रुपमा रगत परीक्षण गराएकोमा ७ सय ७४ जनामा एचआइभी पोजेटिभ पाइएको जिल्ला एड्स समन्वय समितिका संयोजक किरण बमले बताउनुभयो ।
‘यहाँका वासिन्दामा एचआईभी परीक्षण गराउनुपर्छ भन्ने चेतनाको विकास भएकाले संक्रमितको संख्या बढेको जस्तो देखिएको हो’ उहाँले भन्नुभयो । संक्रमितहरु धेरै भएपनि पहिले रक्त परीक्षण नगराउने भएकाले थाहा नभएको बमको भनाइ छ ।
जिल्लामा ३ देखि ४ हजार जनासम्म एचआइभी संक्रमित हुन सक्ने अनुमान छ । डोटीका बिभिन्न ठाउँमा स्वेच्छिक परामर्श केन्द्र खोलिएपनि ग्रामीण क्षेत्रमका संक्रमितहरु समाजमा हेँला हुने डरले जाँच गराउन डराउने परामर्शकर्ताहरु बताउँछन् ।
गरिबीका कारण धन कमाउन भारतका बिभिन्न शहरमा रोजगारीका लागि जाने र त्यहाँ असुरक्षित यौन कार्य गर्ने कारणले घर आउँदा परिवारमा सर्ने गरेको एचआइभी/एड्सको क्षेत्रमा काम गर्ने संघसंस्थाको भनाई छ । संक्रमितमध्ये २ सय ८५ जनाले प्रतिरोधात्मक औषधि खाइरहेका छन् ।
0 comments:
Post a Comment