मोहन बस्याल/उज्यालो । चितवन, असार २९ – चितवन राष्ट्रिय निकुञ्जभित्रका होटल नवीकरणको विषयमा चितवनका होटल व्यवसायीहरुबीच विवाद चर्किएको छ । क्षेत्रीय होटल संघ चितवनमा आवद्ध धेरैजसो व्यवसायीहरु नवीकरणको विपक्षमा छन् भने संघका अध्यक्ष शंकर शैजु सहित केही व्यवसायीहरु नवीकरणको पक्षमा छन् ।
अध्यक्ष सैंजू सहितका ब्यवसायीले होटल नवीकरणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि संघमा आबद्ध व्यवसायीहरुले बिहीबार विषेश साधारण सभा गरी नवीकरणको विरोधमा शरद पाण्डेको संयोजकत्वमा ९ सदस्यीय संघर्ष समिति गठन गरेका छन् । विशेष साधारण सभाले होटल नवीकरणको पक्षमा अध्यक्षले दिएको अभिव्यक्ति र प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रको विषयमा अध्यक्ष सैजूसंग स्पस्टीकरण सोध्ने निर्णय गरेको संयोजक पाण्डेले जानकारी दिनुभयो ।
होटल संघमा संघमा ७२ व्यवसायी आबद्ध छन् ती मध्ये ६५ जना व्यवसायी अध्यक्षको निर्णयको विपक्षमा रहेका ब्यवसायीहरुको भनाई छ ।
नवीकरणको विपक्षमा रहेका ब्यवसायीहरुले निकुञ्जभित्र होटल सञ्चालन गर्दा वन्यजन्तुको वासस्थान, जैविक विविधतामा गम्भीर असर पर्ने तथा निकुञ्जको श्रोत साधन गलत ठाउँमा प्रयोग हुने बताएका छन् । निकुञ्जमा होटल सञ्चालन गर्दा जैविक विविधता र निकुञ्जको अस्थित्व नै संकटमा पर्ने सौराहाका होटल व्यवसायी राममणि खनालले बताउनुभयो ।
नवीकरणको पक्षमा रहेकाहरुले भने निकुञ्जको होटल बन्द गरिए अन्तर्राष्ट्रियरुपमै गलत सन्देश जाने भन्दै नवीकरण गर्नुपर्ने बताएका छन् । ‘चितवनमा होटल बन्द भयो भन्ने गलत सन्देश विदेशमा जान्छ’ होटल संघका अध्यक्ष सैंजुले भन्नुभयो ‘यसले कालान्तरमा चितवनको पर्यटन व्यवसाय नै चौपट पार्छ ।’
तीन वर्षअघि म्याद सकिएका निकुञ्जभित्रका सातवटा होटलहरु तत्कालीन सरकारले पर्यटन बर्ष २०११ लाई मध्यनजर गरी तीन बर्षका लागि नवीकरण गरेको थियो । सन् २०१२ लाई सरकारले लगानी वर्षसमेत घोषणा गरेकोले होटल बन्द हुँदा थप लगानी रोकिने नवीकरणका पक्षधर ब्यवसायीहरुको भनाई छ ।
होटल नवीकरण गर्न केन्द्रीय स्तरमा आर्थिक चलखेल भईरहेको संघर्ष समितिका सदस्य दिलवहादुर ओलीले दावी गर्नुभयो । आर्थिक चलखेल र राजनीतिक आडमा होटलको नवीकरण गरिए वन्यजन्तु संरक्षणको दृष्टिकोणले दुर्भाग्य हुने ओलीको भनाई छ ।
निकुञ्जभित्र अहिले चितवन जंगल लज, आईल्याण्ड जंगल रिसोर्ट, टाईगर टप्स, नारायणी सफारी, टेम्पल टाईगर, होटल मचान संचालनमा रहेका छन् । गैडा वाईल्ड लाईफ क्याम्प भने बन्द भएको छ ।
0 comments:
Post a Comment