Join us on Facebook Follow us on Twitter

share

Click

Sunday, July 22, 2012

साझा प्रकाशनका ६४ चर्चा


काठमाडौं । देशकै जेठो र बृहत प्रकाशन संस्था साझा प्रकाशनले वर्षेनी प्रकाशित पुस्तकको संख्या बढाउँदै लगेको छ । आइतबार आफ्नै कार्यालय ललितपुरमा पत्रकार सम्मेलन गरी साझाले समावेशी र नयाँ अनुहारलाई प्राथमिकता दिने गरी कृति प्रकाशनको संख्या बढाउँदै लगेको जनाएको हो । २०६५ सालमा २०, २०६६ सालमा ३७, २०६७ सालमा ५३ वटा कृति छापिएकोमा २०६८ सालमा ६४ वटा नयाँ कृति प्रकाशित भएको साझा प्रकाशनले जनाएको छ । २०६८ सालमै १ सय ८६ वटा कृतिहरु पुनर्मुदि्रत पनि भएका छन् .
२०६८ सालमा उपन्यास ५, कथा १५, कविता, गजल तथा गीत ५, जीवनी १, निबन्ध ३, नियात्रा तथा संस्मरण ६, बाल साहित्य ८, समालोचना ६, हास्यव्यंग्य २, भाषा २ र लोक साहित्य २ प्रकाशित भएका छन् । स्थापनाको एक शताब्दीको अवधिमा भाषा, साहित्य तथा कला-संस्कृतिका विविध विधाका कृतिहरु प्रकाशन गर्दै आएको प्रकाशनकी अध्यक्ष एवं महाप्रबन्धक ममता झाले जानकारी दिनुभयो । उहाँका अनुसार साझा प्रकाशनले समय क्रमसँगै प्रकाशन कार्यलाई व्यापक र विविधिकरण गर्दै ल्याएको छ । साझाले अंग्रेजी, संस्कृत, हिन्दी, जापानी, चिनियाँ, मैथेली र नेवारी भाषा आदिका कृतिहरु अनूदित गरिसकेको छ । अन्तर्राष्ट्रिय जगतका स्रष्टाहरुको सृजनालाई नेपाली भाषाभाषीमाझ र नेपाली भाषी स्रष्टालाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउने काम भैरहेको साझाले जनाएको छ । साझा प्रकाशनलाई समावेशी साहित्यिक तथा साँस्कृतिक केन्द्रको रुपमा विकास गर्ने नीति पनि लिएको झाले बताउनुभयो ।
साझाका भावी योजना
नयाँ कृति प्रकाशन गर्ने क्रमलाई तीव्रता दिने क्रममा साझा प्रकाशनले यस वर्ष साहित्यका विविध विधाका साथै समावेशी कृतिहरु गरी एकसय शीर्षकमा नयाँ कृतिहरु प्रकाशन गर्ने लक्ष्य राखेको छ । आगामी अशोज १२ देखि २७ गतेसम्म राजधानीको राष्ट्रिय सभा गृह र सबै क्षेत्रीय तथा शाखा कार्यालयहरुमा पुस्तक प्रदर्शनी गर्ने योजना बनाएको छ । नातावाद र कृपावादको आधारमा पुस्तक प्रकाशित हुने आरोप लागेपनि साझा प्रकाशनले यसको खण्डन गरेको छ । ‘हामीले नयाँ स्रष्टालाई स्थान दिँदै आएका छौं’ महाप्रबन्धक झाले भन्नुभयो -’पुस्तक छाप्नको लागि कसैले अनुरोध गरेमा समितिको बैठक बसेर निर्णय गर्ने गरिएको छ ।’

0 comments:

Post a Comment