Badi Malika Temple

Most Beauty Full Place

Bajura 2

Hamro Malika

Badi Malika Darshan 2069

Bajura's Most Peace full and best place and also beauty full temple. Badimalika Darsan,Sawan 18th

Badimalika Darshan 2069

Hamro Malika is One of the most wanderfull place to traveling. Neturally so much beautyfull - www.hamromalika.co.cc

5 title

555555555555555555555555555555555

Join us on Facebook Follow us on Twitter

share

Click

Friday, July 27, 2012

तातो तेलमा परेर वालक गम्भीर घाइते


स्याङजा, साउन ११ –  स्याङ्जाको वालिङ ३ मा रोटी बनाउने क्रममा तातो तेलको कराईमा परेर एक वालक गम्भीर घाइते भएका छन् । छिमेकीको नवनिर्मित घरको वास्तुपुजाको लागि रोटी बनाउने क्रममा स्थानीय २० महिनाका वालक मनिष रेश्मी गम्भीर घाइते भएका हुन् ।

बालकको बाँया हात र खुट्टामा तातो तेलले नराम्ररी पोलेको छ । घाईते बालकको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपाचार हुन नसकेपछि पोखरा लगिएको छ । वालकको मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भैरहेको बालकका बुवा टिकाराम रेश्मी मगरले जानकारी दिनुभयो ।

Thursday, July 26, 2012

गुल्मीमा नेपालकै पहिलो कफी अनुसन्धान केन्द्र स्थापना हुने

गुल्मी, साउन ११ –
गुल्मी जिल्लामा नेपालकै पहिलो कफी अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । बलेटक्सार गाविस वडा नम्बर–१ भण्डारी डाडाँमा १ सय १ रोपनी क्षेत्रफलमा केन्द्र स्थापना हुने भएको हो ।

यसका लागि जग्गा अधिग्रहण गरेर राखिएको छ भने ८ करोड ५० लाखको योजना सहित वजेट माग गरिएको जिल्ला कफी उत्पादक संघ गुल्मीका अध्यक्ष निलकण्ठ गौतमले जानकारी दिनुभयो । कफी अनुसन्धान केन्द्र बनेपछि, कफी जातमा लाग्ने रोगकिरा नियन्त्रण, कफीको नयाँ जात उत्पादन तथा विकास र विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । अनुसन्धान केन्द्र निर्माणका लागि ८ सय देखि १ हजार मिटरसम्म दक्षिण मोहडा फर्किएको जग्गा, पानी, विजुलीको सुविधा तथा छहारीका लागि बनजंगल भएकाले भण्डारीडाडाँ उपयुक्त रहेको जिल्ला कफी उत्पादक संघ गुल्मीले जनाएको छ ।

करिब २० करोड रुपैंया खर्च लाग्ने कफी अनुसन्धान केन्द्र स्थापनाका लागि जिल्ला कृषि विकास कार्यालय गुल्मी, जिल्लाका गैरसरकारी संस्था, कफी उत्पादक संघ लगायत कफीसँग सम्बन्धित व्यक्ति तथा संघ संस्थाहरुले काम गरिरहेका छन् । नेपालमा पहिलोपटक गुल्मि जिल्लाबाट कफी खेती सुरुवात भएको थियो । विशेषगरि पाकामारा र सेलेक्सन–१० जातका कफी राम्रो उत्पादन हुने गुल्मीमा वार्षिक २० मेट्रिक टन कफी उत्पादन हुने कृषि विकास कार्यालय गुल्मीको तथ्याङ्क छ ।

देशभर अहिले २६ हजार कफी किसानहरु छन् ।

श्रीमतीको प्रतिकारमा श्रीमानको मृत्यु

दमन राई/ उज्यालो
। खोटाङ, साउन ११ –
 आफ्नै श्रीमतीको खुकुरी प्रहारबाट खोटाङमा एक पुरुषको ज्यान गएको छ । मादक पदार्थ सेवन गरेका फेदी ९ का किरण राईले श्रीमतीलाई खुकुरी प्रहार गर्न खोज्दा श्रीमतीको प्रतिकारमा ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार संखुवासभामा ज्यालामजदुरीको काम गर्न गएका राईलाई खोटाङ फर्किनेक्रममा आफ्नै पत्नी कमला राईको भोजपुरको पखुवाभञ्ज्याङमा खुकरी प्रहार गरेकी थिइन् । संखुवासभाको सभाखोलामा रहेको सुकुम्बासीटोलमा गिटीढुंगा कुट्ने काम गर्दै आएका राईले खोटाङ फर्कनेक्रममा श्रीमती र चार वर्षीय छोरी अप्सरालाई खुकरी प्रहार गर्न खोज्दा श्रीमतीको प्रतिकारमा ज्यान गुमाएका हुन् ।

श्रीमानलाई खुकरी प्रहार गर्ने कमलालाई भोजपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध भएको भन्दै आन्दोलन घोषणा


पोखरा, साउन
– पोखरामा बन्न लागेको क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध सृजना गर्न खोजेको भन्दै विमानस्थल निर्माण सरोकार समितिले आन्दोलन घोषणा गरेको छ । निर्माण प्रकृया सुरु हुनै लागेका बेला नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुले नै अवरोध गर्न खोजेको भन्दै समितिले पोखरा विमानस्थल बन्द गर्ने सम्मका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

समितिले सरोकारवालहरुसँग काठमाडौं तथा पोखरामा अन्तक्र्रिया, पोखरामा जनप्रर्दन, पोखरा बिमानस्थलमा कालो व्यानर राख्ने, नागरिक उड्डयन प्राधिकरण केन्द्रीय कार्यालय घेराउ गर्ने लगायतका विरोधका कार्यक्रम पनि सार्वजनिक गरेको छ । मागको सुनुवाई नभए पोखरा विमानस्थल बन्द गरिने समिति संयोजक समेत रहेका पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णमोहन श्रेष्ठले जानकारी दिनुभयो ।

निर्माणमा लगानी गर्ने देश चीन तथा नेपाल सरकार सकरात्मक रहेका बेला प्राधिकरणका कर्मचारीहरुले लागत महङ्गो भएको भन्दै विरोध गरेपछि पोखरेलीहरुले विमानस्थल निर्माण प्रकृया रोकिने हो कि भन्ने आशंका गरेका हुन् । विमानस्थल निर्माण उच्चस्तरीय समस्या समाधान समितिका संयोजक पुर्व सभासद राजकाजी गुरुङ्गले कर्मचारीहरुले अवरोध सृजना गर्न खोजे पनि मन्त्रीस्तरीय निर्णय गराएरै भए पनि विमानस्थल निर्माण हुने दाबि गर्नुभएको छ ।

निर्माण प्रकृया रद्ध नगरे आन्दोलनमा उत्रिने यस अघिनै कर्मचारीले चेतावनी दिईसकेका छन् ।

पोखराको छिनेडाँडामा अन्तर्राष्ट्रियय विमानस्थल बनाउन ३७ बर्षअघि नै ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । प्रस्तावित विमानस्थलमा ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको पक्की धावनमार्ग रहने छ । विमानस्थलमा ठुला २ सय जना यात्रु क्षमता भएका जहाजहरु अवतरण गर्न सक्नेछन् ।

कागज पत्र नमिलेका कारण ३ क्रिकेटरको भिषा आएन


काठमाडौं, साउन

- आउँदो २० गतेदेखि अष्ट्रेलियामा सुरु हुने १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा भाग लिन जाने नेपाली टोलीका ३ जना खेलाडीलाई अष्ट्रेलियाले भिषा दिन अस्वीकार गरेको छ । अविनाष कर्ण, राम नरेश गिरी र सौरभ खनालको कागजपत्र नमिलेका कारण भिषा नआएको भन्दै नेपाल क्रिकेट संघ क्यानले थप कागज पत्र पठाइएको र उनीहरुको पनि भिषा आउने बताएको छ ।

१८ वर्ष मुनिका भएको कारण उनीहरुलाई भिषा दिन आमा बुबा दुवैको मन्जुरी पत्र चाहिने भएकोले भिषा नआएको क्यानको भनाई छ । पछि तीनै जना खेलाडीका आमा बुबाको मनजुरी पत्रसहित पुन: प्रकृया थालिएकोले उनीहरुको पनि भिषा आउने क्यानले जनाएको छ । अष्ट्रेलियाको भिषा प्रकृया मिलाउने भिएफएस ग्लोबल सर्भिस प्रालिले यसअघि उनीहरुका बुबाको मात्र मञ्जुरी पत्रसहित भिषाका लागि प्रकृया थालेको थियो ।

भिएफएसकै कारण ३ जना खेलाडीको भिषामा ढिलाई भएको क्यानको भनाई छ । नेपाली क्रिकेट टोली अभ्यास खेलका लागि शुक्रवार अष्ट्रेलिया जाँदै छ । भिषा रोकिएका ३ खेलाडी भने भिषा आईसकेपछि पछि मात्रै अष्ट्रेलिया जाने क्यानले जनाएको छ ।

आठ विद्यार्थी संगठनद्वारा सीटीईभीटीमा धर्ना

भक्तपुर, साउन –
 आठ विद्यार्थी संगठनले उच्च माध्यामिक शिक्षा परिषद र प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सीटीईभीटी) मा भएका विकृति विरुद्ध दिनभर धर्ना दिएका छन् । उच्च माध्यामिक विद्यालयको शूल्क बढि भएको, भड्किलो विज्ञापन गरिएको, सीटीइभीटीको परीक्षामा भएका अनैतिक क्रियाकलाप रोक्नुपर्ने लगायत माग गर्दै ८ विद्यार्थी संगठनले धर्ना दिएका हुन् ।

माग सुनुवाई गर्न माग गर्दै विद्यार्थी संगठनले शुक्रबार शिक्षा मन्त्रालयमा पनि धर्ना दिने बताएका छन् । यस्तै कक्षा १२ को नतिजा सार्वजनिक भएकै दिन एमविविएस छात्रवृतिको आवेदन फारम भर्ने म्याद सकिएकाले म्याद थप्न माग गर्दै नेविसंघले शिक्षा सचिवलाई ज्ञापनपत्र बुझाएको छ ।

सेन्ट मेरिज कलेजले टेरेन सरकारलाई

काठमाडौं, साउन

नीजि उच्च माध्यमिक विद्यालय अनुगमन कार्यदलले ललितपुरको सेन्ट मेरिज कलेजले सरकारी अनुगमन टोलीलाई नटेरेको निष्कर्ष निकालेको छ । कार्यदलको शुक्रबार बसेको बैठकले सेन्ट मेरिज कलेजलाई २४ घण्टा भित्र लिखित स्पष्टिकरण दिन निर्देशन समेत दिएको छ ।

सेन्ट मेरिज कलेजका प्रिन्सिपल मार्लिङ इजेलाई स्पष्टिकरणका लागि पत्रचार गरेपनि उपस्थित नभएपछि कार्यदलले यस्तो निर्देशन दिएको हो ।

बैठकले अनुगमनमा किन असहयोग गरेको र आज किन उपस्थित नभएको भन्दै २४ घण्टाभित्र प्रिन्सिपल नै लिखित जवाफ लिएर उपस्थित हुन निर्देशन दिएको टोलीका सदस्य प्रकाश सिलवालले जानकारी दिनुभयो ।

वाल अधिकार आयोग चाहियोः प्रधान


काठामडौं, साउन 
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवं प्रवक्ता गौरी प्रधानले वाल अधिकारको संरक्षणका लागि वाल अधिकार आयोग गठन गर्नुपर्ने बताउनुभएको  छ । राष्ट्रिय बाल संरक्षण सञ्जाल नेपालले बिहीबार भक्तपुरमा गरेको कार्यशालाको उद्घाटन गर्दै प्रधानले वाल अधिकार संरक्षणका लागि हालसम्म पनि वाल आयोग गठन नभएकाले त्यो आवश्यक रहेको बताउनुभयो ।वाल अधिकार आयोगले वाल अधिकारको संरक्षणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने दावी गर्दै उहाले सरकारलाई बाल अधिकार आयोग गठन गर्न माग गर्नुभयो ।  नेपालमा प्रत्येक दिन १० हजार विद्यार्थीले विभिन्न बहानामा विद्यालयमा यातना पाउने गरेको उल्लेख गर्दै विद्यालयले बालबालिकालाई अनुसासनमा राख्दा पनि बाल अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक धर्मराज श्रेष्ठले बाल अधिकार संरक्षणका लागि बनेको राष्ट्रिय नीतिलाई अन्तिम रुप दिएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । चार दिनसम्म चल्ने कार्यशालामा १९ जिल्लाका झण्डै ५० जना बाल अधिकारकर्मी, पत्रकार, जिल्ला बाल कल्याण समिति, नगरपालिका र संघसंस्थाका प्रतिनिधी सहभागि छन् ।

अपराधका घटनामा कमी आएको प्रहरीको दावी

बोमलाल गिरी/
काठमाडौं, साउन – प्रहरीले काठमाडौं उपत्यकामा अपराधका घटनामा कमी आएको दावी गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयले पत्रकार सम्मेलन गरी आर्थिक वर्ष ०६७/ ०६८ भन्दा आर्थिक वर्ष ०६८/ ०६९ मा अपराधका घटनामा दुई प्रतिशतले कमी आएको आयुक्तको कार्यालयका प्रवक्ता एसएसपी पूर्णसिंह खड्काले जानकारी दिनुभयो ।

प्रहरीले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था सन्तोष जनक रहेको दावी पनि गरेको छ । राजनीतिक अस्थिरता, बेरोजगारी र जनघनत्वका कारण अपराध बढेको प्रहरीले जनाएको छ । काठमाडौं जिल्लामा ७.२७ प्रतिशतले अपराधका घटनामा कमी आएपनि ललितपुरमा १९.४९ र भक्तपुरमा ३५.६२ प्रतिशतले अपराधका घट्ना बढेको पाइएको छ ।

काठमाडौं उपत्यकामा आत्महत्याका घटनामा ५.२६ प्रतिशतले वृद्धि भएको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा १ हजार १ सय ३६ जनाले आत्महत्या गरेकोमा ७ सय ७५ जना काठमाडौंका छन् । समग्रमा अपराधका घटना घटेको देखिएपनि जबर्जस्ती करणी १९.४ र बहुविवाह १२.९ प्रतिशतले बढेको छ । तर कीर्ते नागरिकता ७७.७७, हातहतियार तथा खरखजाना २२.४ प्रतिशतले कमी आएको छ ।

काठमाडौं उपत्यकामा अघिल्लो आर्थिक वर्षमा १० पटक नेपालबन्द, ७ पटक उपत्यका बन्द भएको र विभिन्न घट्नाका लागि ४९ हजार २ सय ७५ जना प्रहरी परिचालन गरिएको प्रहरी आयुक्तको कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार एक वर्षमा काठमाडौं उपत्यकामा ६ लाख ७५ हजार १ सय २९ वटा ट्राफिक उल्लंघन भएकोमा ३८ हजार २ सय ७० वटा मादक पदार्थ सेवनका घटना छन् । जसबाट तीन करोड ३२ लाख ३३ हजार राजश्व उठेको छ ।

सिट बेल्ट नबाध्ने २६ हजार ४ सय ५६ जनालाई कारवाही गरी ५२ लाख ९१ हजार २ सय रुपैयाँ संकलन भएको छ । गएको आर्थिक वर्षमा ५ हजार दुर्घटना भएको र त्यसमा ३ सय ३९ जनाले ज्यान गुमाउनुका साथै ३ हजार २ सय ३६ घाईते भएको प्रहरीले जनाएको छ । उपत्यकामा प्रहरीले ५१ किलो मीटर बाटो विस्तार गरेको पनि प्रहरी आयुक्तको कार्यालयले जनाएको छ ।

ठेक्का सम्झौता नहुँदै खोलाबाट मनपरी ढुंगा गिट्टी निकासी


विद्रोही गिरी/
 नवलपरासी, साउन
 ठेक्का सम्झौता नहुँदै तस्करहरुले नवलपरासीका विभिन्न खोलाबाट मनपरी ढुंगा गिट्टी तथा बालुवा निकासी गर्न थालेका छन् । जिल्ला विकास समिति नवलपरासीले खोलाको ठेक्का सम्झौता नगर्दै विभिनन समिति तथा ठेकोदारको नाममा अवैध निकासी हुन थालेको हो ।

जिल्लामा रहे तुरिया खोला र ज्यामिरे खोलाको बाहेक अन्य खोलको जिविसले ठेक्का सम्झौता गरेको छैन । सम्झौता नभएका खोलामा चोरी निकाशी हुँदा समेत जिविस मुकदर्शक बनेको स्थानीयले गुनासो गरेका छन् । ‘खुलेआम जिविसको रसिद प्रयोग गरेर खोलाबाट ढुंगा गिट्टी निकासी भैरहेको छ’, एक स्थानीयबासीले भने, ‘जिविसले देखीदेखी नदेखेजस्तो गरेको छ ।’

जिल्लामा रहेका ठाडा खोलाबाट मात्रै जिल्ला विकास समितिले बार्षिक ६ करोड आम्दानी गर्ने गरेको छ । ठेक्का सम्झौता नभएको खोलाबाट स्थानीय युवा क्लब तथा संरक्षण समितिको नाममा ढुंगा गिट्टी निकाशी हुने गरेको छ ।

प्रहरीले अवैध रुपमा ढुंगा तथा गिट्टी लिन गएका दर्जन भन्दा बढी ट्याक्टर नियन्त्रणमा लिएको छ ।

पूर्व विशिष्ट पदाधिकारीलाई सुविधा दिने निर्णय बिरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, साउन ११ –
राष्ट्रपति, प्रधानमन्त्री लगायत पूर्व विशिष्ट पदाधिकारीलाई सुविधा दिने सरकारी निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता भरत जंगमले सुविधा दिने सरकारी निर्णय खारेजको माग गर्दै रिट दायर गर्नुभएको हो ।

अधिवक्ता जंगमले राष्ट्रपति भूतपूर्व नभएको अवस्थामा सुविधा लिने अध्यादेश जारी गर्नु कपटपूर्ण भन्दै सुविधा दिने निर्णय खारेज गर्नुपर्ने माग गरेको बताउनु भयो । बहालवाला राष्ट्रपतिले भूतपूर्व भएपछि पेन्सन खाने नियत अनुसार निर्णय आएकाले यो षडयन्त्रमुलक भएको जंगमले दायर गरेको रिटमा उल्लेख छ ।

रिटमा राष्ट्रपति रामवरण यादवलाई व्यक्तिगत रुपमै विपक्षी बनाइएको छ । यस्तै प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल सरकार र कानुन मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेको अधिवक्ता जंगमले बताउनु भयो ।

प्रभावकारी बन्दै छ किसानलाई ‘टोल फ्री’

उमा के.सी./

रामेछाप, साउन ११ – केही समय अघिसम्म खेतीपाति, तरकारी वा अन्य कृषिसँग सम्बन्धी ससाना गुनासा लिएर सदरमुकाम मन्थली जानुपर्ने रामेछापका किसान अब घरमै बसेर फोनमार्फत समाधान खोज्न सक्छन् । यस्ता जिज्ञासा समाधान गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यलय रामेछापले सुरु गरेको टोल फ्री सेवाले यो सम्भव बनाएको हो ।

नागरिकलाई सहज सेवा प्रदान गर्न सुरु गरिएको पैसा नलाग्ने टेलिफोन  नम्बरमा फोन गरि सर्वसाधारणले कृषिका समस्या जिज्ञासा बताउन थालेपछि कृषकसँग सञ्चार गर्न सहज भएको कृषि विकास कार्यालयले जनाएको छ ।

गत जेष्ठ १६ गतेबाट सुरु भएको टोल फ्री नम्बरमा दैनिक चार पाँच जना किसानले आप्mनाजिज्ञासा, समस्या र जानकारी लिने राख्ने गरेको कार्यलयका प्रमुख केशब देवकोटाले बताउनुभयो । कार्यालयले बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा किसानहरुलाई फोन गरेर समस्या समाधान खोज्ने व्यवस्था मिलाएको देवकोटाले जानकारी दिनुभयो ।

‘कृषि सम्बन्धी ससाना जिज्ञासाको समाधान खोज्न पनि सेवाग्राही घण्टौको बाटो धाएर सदरमुकाम आउनुपर्ने समस्या भएकोले यो प्रविधि अपनाएका हौँ’, देवकोटाले भन्नुभयो, ‘पैसा पनि नलाग्ने र घरमै बसेर आफ्ना जिज्ञासाहरु राख्न सजिलो भएकोले प्रभावकारी बन्दै गएको छ ।’ किसानहरुले १६६०४८५४३३३ मा फोन गरेर आफ्ना समस्याहरु राख्न सक्छन् ।

नेपाली ब्लगहरु


त्यो दिन म घामपानीका कुरा खोतल्दै थिएँ,
अतृप्त मनशाले,
बादलमा झटारो हानेर सौर रसाएझैँ,
सुशेलीले हिमाल खोपेर मुहान फुटाई,
उर्लेको खहरे जस्तै,
म र मेरा भावना हरू छताछुल्ल भएका थिए। 
त्यतै कतै प्रकृतिको आँगन माझ
मन पोखिएको कुनो निर
आफ्ना विचार र अभिव्यक्तिको साझा चौतारीलाई,
एउटा वृत्त - सम्वृद्द
 आकार दिन खोज्दै थिएँ ।
कलियुगका कुरालाई,
कनिकुथीको साहित्यले झड्कार्दै,
शब्दका तरंगहरू फिजाउन खोज्दै थिएँ,
मेरो प्यारो संसारमा,
आँखा अगाडि डाँडापारीका दौँतरीहरू परेड खेल्दै थिए,
एक चोटी पढ्नै पर्ने, लेख्नै पर्ने 
कुनै कथालु खसखसले उक्साईरहेको थियो, फेरी सोचेँ
साहित्य जीवनको निम्ति हो,
रहस्यमय विज्ञान देखि अद्भुत समाज सम्म हो,
तै पनि छैमलेको बबुरो र
पाँचथरे साईँलो का अभिव्यक्ति सँग बहकिँदा,
जोतारे शब्दहरू शब्द रहेका थिएनन्,
कुनै घायलका तरही मुसायरा जस्तै,
मेरा यात्राका सुस्केराहरू,
डायरीको पाना बाट जुर्मुराउँदै उठेर,
प्रतिबिम्बित हुँदै,
पानीफोटोमा टिल्पिलाउँदै थिए, मानौँ - 
कृष्णपक्षको चाँदनीले समुन्द्रमा छलाङ् मारेको छ। 
यस्तो समय र परिवेशमा,
म जस्तो भाते चोरलाई
साईबर चौतरीका गफगाफ,
प्रदिपअर्चनासुशिलअञ्जली,
प्रवेस वा कुनै नेपाली केटीका अजब गजबका कुरा,
नेपाली ब्लगर र xnepali का गन्थन पढ्दैमा,
दुर्जेय चेतना प्राप्त भो भनेर, 
भो न-कुरा गरम्,
किनकी म बुझ्छु,
घर आँगन छोडेर, 
बाईरोडको बाटोमा निस्केपछि
आँफु सडकका अभिलेखको पात्र भईन्छ,
आफ्नै भनेका कति कुरा आफ्नै हुँदैनन्,
र यो?
यो त फगत् युटोपिया को खोजिमा हिँडेको यात्राको,
एउटा अन्त्यहिन सुरुवात हो।





(यो कविता ब्लगर रबिन्द्र रिजाल ज्यू ले नेपाली ब्लगरहरुको नामलाई बिम्बको रुपमा प्रयोग गरी तयार  गर्नु भएको हो । दिएको नामको ब्लग पढ्नलाई त्यसैमा क्लीक गर्नु होला । )  
साभार : रविन्द्र रिजाल (http://www.rabindrarijal.com/2011/06/d-nepali-blogs-poem.html)

गीतहरुबाट Vocal हटाएर म्युजिक Track मात्र बनाउने Software


 चाहेको गीतको Vocal हटाएर musical Track मात्र बनाउने software हरुको बारेमा पहिले पनि चर्चा गरिसकिएको छ ( हेर्न यहाँ क्लिक गर्नुहोला ) । अहिले फेरी यही बिषयमा चर्चा गरौ किनकी यहाँ चर्चा गर्न लागिएको software को मद्तले अरु भन्दा सजिलै यो काम गर्न सकिने छ र अर्को महत्वपूर्ण कुरा अहिले यो फ्रीमा उपलब्छ छ । यो software को सहायताले full Stereo Sound मा भएको गीतको Vocal लाई Reduce गरेर म्युजिक ट्र्याक मात्र बज्ने बनाउन सकिन्छ । हुन त एक पटक म्युजिक र भोकल मिक्स भई सकेको ट्र्याकबाट भोकल मात्र १००% हटाउन त सकिदैन तर यस्ता केही software हरुको मद्तले १००% नभए पनि ८०-९०% सम्म हटाउन भने सकिन्छ । अरु थुप्रै software हरु माझ Vocal Reduce नामक software पनि निक्कै लाभदायक सिद्द हुनसक्ने कुरामा शँका छैन । अब यो software को मद्त बाट कसरी Stereo sound मा भएको गीत बाट vocal लाई हटाउने त भन्ने बारे चर्चा गरौ ।



१) software download गरी आफ्नो कम्प्युटरमा Install गरौ ।
२) Install भईसकेपछि उक्त application लाई open गरौ र Vocal हटाउन पर्ने गीत Import गर्न file मेनु मा क्लिक गरौ र Load लाई छानौ ।



३) गीतको location दिएर ओके गरौ ।
४) गीत Load भई सकेपछि Vocal हटाउन मेनु बारमा भएको Vocal Reducer बटन लाई क्लिक गर्नुहोस् ।
५) त्यहा केही option हरु देखिनेछन केही नचलाई मात्र ओके बटन क्लिक गरिदिनुहोस् ।



६) Status Editing १००% हुन दिनुहोस् र play Full बटन क्लिक गरी सुन्नुहोस् ।
७) अब फाइल लाई save गर्न File मेनु क्लिक गरेर Resample and export मा क्लिक गर्नुहोस् र location दिएर ओके बटन क्लिक गर्नुहोस् ।



Enjoy !!!

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न पोखरावासीको दबाब


पोखरा, साउन ११ – 
लागत बढी भएको बाहानामा पोखरामा बन्न लागेको क्षेत्रिय अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणमा अवरोध गर्न खोजेको भन्दै बिमानस्थल निर्माण सरोकार समिति पोखराले दबाब दिने भएको छ ।
समितिले बिहीबार दिउँसो बृहत छलफल गरी दबाबका कार्यक्रमहरु बनाउने दबाब समूहका संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिनुभयो । नागरिक उड्ययन प्राधिकरणका कर्मचारीहरुले ठूलो लागत थेग्न नसक्ने भन्दै विरोध गरेपछि पोखरेलीहरुले विमानस्थल निर्माणमा अवरोध हुने आशंका गर्न थालेका हुन् । रकम सहयोग गर्ने चीन तथा नेपाल सरकार समेत सकारात्मक हुदाँहुदै कर्मचारीहरुले विरोध गर्नु आपत्तिजनक भएको संयोजक श्रेष्ठको भनाई छ ।
पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयमा प्राधिकरण व्यवस्थापन र कर्मचारीबीच विवाद छ । व्यवस्थापनले निर्माण ठेक्का रद्द नगरे आन्दोलनमा उत्रिने चेतावनी कर्मचारीले दिएका छन् ।
कर्मचारीले यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि दिइसकेका छन् । विमानस्थल निर्माण गर्न आह्वान गरिएको टेन्डरमा चीनका तीन कम्पनीमात्र योग्य भएको र त्यसमा सबैभन्दा सस्तो प्रस्ताव गर्ने चाइना सिएएमसी कम्पनी लिमिटेड छ ।
उसले ३० करोड ५० लाख अमेरिकी डलर अर्थात २७ अर्ब रुपैयाँ लागतमा विमानस्थल निर्माण गर्ने प्रस्ताव राखेको छ । प्राधिकरणले भने १२ अर्ब रुपैयाँमा विमानस्थल निर्माण गर्ने अुनमान गरेको थियो । अर्थ मन्त्रालयले चीनको एक्जिम बैंकबाट लिने सहुलियत ऋणलाई प्राधिकरणले ८ प्रतिशत ब्याज दरमा लिन लागेको हो । एउटै परियोजनामा २७ अर्ब खर्च गर्नु भनेको संस्था डुबाउने खेल भएको भन्दै कर्मचारीहरुले विरोध गरेका हुन् ।

एड्सको उपचारमा महत्वपूर्ण प्रगति


साउन ११ – बैज्ञानिकहरुले एड्स फैलाउने एचआईभी भाइरस नष्ट गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको दावी गरेका छन् । एचआईभी भाईरस मानिसको शरीरमा बिना कुनै प्रतिक्रिया लामो समय रहिरहने हुँदा त्यसको उपचारमा कठिनाई हुँदै आएको छ ।
त्यस्ता सुस्त अवस्थामा रहेका भाईरसलाई क्यान्सरको उपचारमा प्रयोग हुने औषधीको प्रयोगबाटै बाहिर निकाल्न सकिने वैज्ञानिकहरुको दावी छ । उनीहरुले विभिन्न आठ वटा प्रयोगमा एचआईभी भाइरसमाथि आक्रमण गरी सामान्य एन्टी रेट्रो भाईरल औषधीले त्यस्ता भाईरस नष्ट गरेका थिए ।
एचआईभी भाईरस मानिसको जीनसंग गाँसिने र प्रतिरक्षा प्रणालीमा लुकेर बस्ने भएकाले उपचारमा समस्या भएको वैज्ञानिकहरुले बताउँदै आएका छन् । अनुसन्धानमा संलग्न बेलायतको अक्सफोर्ड विश्वविद्यालयका जोन फ्रेटरका अनुसार जब एचआईभी भाईरस सक्रिय हुँदैन तबसम्म विश्वमा उपलब्ध कुनै पनि औषधीले त्यसका विरुद्ध काम गर्दैन भने जब सक्रिय हुन्छ त्यसपछि भाईरसमाथि नियन्त्रण गर्नै असम्भव हुन्छ ।
तर पछिल्लो अनुसन्धानले निष्क्रिय अवस्थामा रहेको एचआईभी भाईरसमाथि नियन्त्रण गर्न सकिने संभावना देखिएकाले एचआईभी एड्सको उपचारका दिशामा यो महत्वपूर्ण उपलब्धि हुने उहाँको विश्वास छ । वैज्ञानिकहरुले एचआईभी एड्सको प्रभावकारी औषधिका रुपमा विकसित गर्न भने अझै धेरै वर्ष अनुसन्धान गर्नु जरुरी रहेको बताएका छन् ।

आन्दोलनबाटै सरकार ढाल्छौं : नेपाल


बारा, साउन ११ – 
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले  प्रधानमन्त्री डा. बाबुराम भट्टराइले राजीनामा नदिए आन्दोलनबाटै सरकार ढाल्ने चेतावनी दिनुभएको  छ । बाराको सिमरा विमानस्थलमा बिहीबार बिहान पत्रकारसंग कुरा गर्दै उहाँले सहमतिबाट प्रधानमन्त्रीको राजीनामा नआए एमाले काँग्रेस सहितका विपक्षी दलहरु सरकार ढाल्न आन्दोलनमा जुट्ने बताउनुभयो ।

एमाले नेता नेपालले वर्तमान सरकारले घोषणा गरेको संविधानसभाको चुनाव हुनै नसक्ने ठोकुवा पनि गर्नुभयो । तीन दलको बैठकमा एमाले र कांग्रेसले सरकार परिवर्तन गरी सहमति गर्ने प्रस्ताव गरेपनि माओवादीले पहिला सहमति गर्नुपर्ने शर्त अगाडि सारेका कारण वार्ता असफल भएको बताउनुभयो ।

रियल जुसमा किरा र झुस भेटियो


रियल जुसमा किरा र झुस भेटियो

धादिङ, साउन ११ – धादिङ सदरमुकाम धादिङवेशीको एक पसलमा बेच्न राखिएको रियल जुसमा फोहोर र अखाद्य पदार्थ भेटिएको छ । धादिङबेशी बसपार्कमा रहेको ललितबहादुर श्रेष्ठको पसलमा चार वटा रियल जुस खोल्दा त्यहाँभित्र कुहिएको अण्डाजस्तो चोक्टा, लेउ र पात पतिंगर जस्ता फोहोर फेला परेको जिल्ला अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताउनुभयो ।


रियल जुसमा किरा र झुस भेटियोविहीवार पसलमा भेटिएको रियल जुसको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाईएको र वाँकी रहेको रियल जुस विक्री नगर्न पनि निर्देशन दिईएको अनुगमन समितिका संयोजक पौडेलले जानकारी दिनुभयो ।
धादिङको राजमार्ग क्षेत्र र सदरमुकाम क्षेत्रका विभिन्न पसल तथा होटलहरुमा पछिल्लो समयमा अनुगमनलाई तिव्र पारिएपनि अखाद्य पदार्थ भेटिन छाडेको छैन ।

Wednesday, July 25, 2012

जापानमा उत्पादित कार वेलायतको विश्वसनीय ब्राण्ड

साउन ११ – जापानका अधिकांश कार उत्पादक कम्पनी बेलायतमा सबैभन्दा बढी विश्वसनीय ब्रान्ड बनेका छन् । कारका ब्रान्ड र तिनको विश्वसनीयताका आधारमा गरिएको एक सर्वेक्षणमा होन्डा, टोयोटा र लेक्सस ब्रान्डलाई बेलायती कार प्रयोगकर्ताले सबैभन्दा भरपर्दा ब्रान्डका रुपमा लिने गरेको पाईएको हो  ।
तीन देखि १० वर्ष पुराना ब्रान्डमा आधारित सर्वेक्षणमा जापानी कम्पनीहरु सुजुकी र सुबारु पनि भरपर्दा ब्रान्डको सूचीमा चौथो र पाँचौ स्थानमा परेका छन् । दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाई छैठौं तथा जापानको माज्दा साँतौ र मित्सुबिसी आठौं नम्बरमा छन् । बिलासी मानिएको ल्यान्डरोभर, अडी, जगुआर र मर्सिडिज भने कम विश्वसनीय १० भित्र परेका छन् ।
अमेरिकी कार निर्माता सेभ्रोले गैरएशियाली ब्रान्डमा सबैभन्दा विश्वसनीय देखिएको छ । सर्वेक्षणमा सामेल कार प्रयोगकर्ताले जापानी ब्रान्ड निशान र दक्षिण कोरियाको कियालाई  खराब ब्रान्ड मानेका छन् । कार प्रयोगको शुरुवात देखि पहिलो पल्ट बिग्रेको समय तथा प्रयोगमा सहजताका आधारमा उपभोक्ताले कारलाई भरपर्दो वा खराब भएको बताएका हुन् ।
कठिन परिस्थितिमा पनि विश्वसनीयता कायम रहनु उपभोक्ताका लागि निकै महत्वपूर्ण रहेको ठहर गर्दै सर्वेक्षण प्रतिवेदनमा बिलासी मानिएका गाडीहरुलाई लोकप्रिय बनाउन अझै सुधार गर्नुपर्ने सुझाव दिईएको छ ।

अनुगमन गर्न नदिने सेन्ट मेरिजसंग स्पष्टीकरण लिइने


काठमाडौ, साउन ११ –
 अनुगमनमा बाधा पुर्‍याएको भन्दै उच्च माध्यमिक शिक्षा परिषद्ले ललितपुर जावलाखेलमा रहेको सेन्ट मेरिज उच्च माध्यमिक विद्यालयका प्राधान्याध्यापक र व्यवस्थापनका अधिकारीसँग स्पष्टिकरण लिने भएको छ । बुधवार अनुगमनका लागि गएको कार्यदललको टोलीलाई विद्यालयमा प्रवेश गर्न नदिएपछि परिषद्ले बिहीबार स्पष्टिकरण लिन लागेको हो ।
विद्यालयको ढोका बाहिर आधा घण्टासम्म उभिँदा पनि अनेक बाहाना देखाएर विद्यालयले अनुगमन गर्न नदिएको कार्यदललका सदस्य प्रकृति अधिकारीले बताउनुभयो । पहिलै जानकारी गराएर जाँदा पनि अनुगमनमा बाधा पुर्‍याएकाले सोधपुछ गर्न लागेको परिषद्ले जनाएको छ । अनुगमनका क्रममा धेरैजसो विद्यालयले विज्ञापन गरेजस्तो विद्यार्थीलाई सुविधा नदिईएको पाईएको छ ।

यो सरकार रहेसम्म सहमति हुदैन : बादल


बुटवल, साउन ११ – 
नेकपा माओवादीका महासचिव रामवहादुर थापा वादलले वर्तमान सरकार रहँदासम्म राजनीतिक सहमति हुन नसक्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार महासंघ अवध मधेस राज्य समितिले बिहीबार बिहान वुटवलमा गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार पुर्ण रुपमा असंवैधानिक भएकाले सरकार रहँदासम्म राजनीतिक सहमति नहुने बताउनुभयो ।  
सर्वपक्षिय गोलमेच सभा नै राजनीतिक  निकासको प्रस्थान विन्दु भएको दावी गर्दै महासचिव बादलले राजनितीक सहमतीको लागी संविधान सभाको नयाँ चुनाव , संविधान सभाको पुनर्स्थापना वा संसदको चुनाव जुनसुकै विकल्पमा छलफल हुनसक्ने बताउनुभयो ।
सरकारको विरुद्ध कांग्रेस एमाले लगायतका दलले गर्ने आन्दोलनमा आफनो समर्थन रहने वताउँदै उहाँले तर उनीहरु संगको मोर्चावन्दी भने 

विद्यार्थी संगठनहरुले उच्च माध्यामिक शिक्षा परिषद् घेर्दै


काठमाडौ, साउन ११ – 
विभिन्न माग राखेर थालेको आन्दोलन अन्तरगत ८ विद्यार्थी संगठनले बिहीबार उच्च माध्यामिक शिक्षा परिषद् र सिटीईभिटी घेराऊ गर्दैछन् । अन्तर्राष्ट्रिय नाम हटाउनुपर्ने, शुल्कमा एकरुपता ल्याउनुपर्ने र गलत तरिकाले आर्जन गरेको सम्पत्तिको छानविन हुनुपर्ने भन्दै आफूहरुले घेराऊ गर्न लागेको नेविसंघ नेता यूपी लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न विद्यार्थी संगठनले दिउँसो १२ बजे उच्च माध्यामिक शिक्षा परिषद् र दिउँसो दुई बजे प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् सीटिईभिटी घेराऊ गर्नेछन् । 

महिला फुटवलमा पुलिस र आर्मी भिड्दै


काठमाडौ, साउन ११ – 
राष्ट्रिय महिला फुटबलको दोश्रो सेमिफाईनलमा बिहीबार नेपाल पुलिस र आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल बाराको सिमरामा दिउँसो चारबजे हुनेछ । आर्मी बाँकेलाई हराउँदै सेमिफाईनलमा पुगेको हो  । यस्तै नेपाल पुलिस बारामाथि जित हात पार्दै अन्तिम चारमा पुगेको हो ।
बिहीबारको बिजेताले उपाधिका लागि शनिवार सशस्त्र प्रहरीको एपीएफसंग प्रतिस्पर्धा गर्नेछ । एपीएफ बुधवार कैलालीलाई ४–० ले हराउँदै फाईनलमा पुगेको हो ।

आसाममा अझै हिंसा रोकिएन


साउन ११ –
 निरन्तरको प्रयासपछि पनि हिंसा रोक्न नसकेपछि भारतीय सेनाले आसामका गाउँमा खोजतलास अभियान सञ्चालन गरेको छ । केन्द्र सरकारले हिंसा मच्चाउने समूहका नेतालाई गिरफ्तार गर्न निर्देशन दिएपछि सेना र अर्धसैनिक बलको टोलीले हिंसाबाट सबैभन्दा प्रभावित कोकराझार लगायतका जिल्लामा खोजतलास अभियान शुरु गरेको हो ।
स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सेना तैनाथ गरिएको छ । गएको बिहीबार कोकराझार जिल्लामा मुस्लिम समुदायका दुईजना विद्यार्थी नेतामाथि नचिनेको समूहले गोली प्रहार गरेपछि हिंसा मच्चिएको हो । हिंसामा परी अहिले सम्म ४१ जनाको ज्यन गईसकेको छ भने दुईलाख भन्दा बढी विस्थापीत भई विभिन्न शिविरमा शरण लिएर बसेका छन् ।
विस्थापितहरु १ सय २५ वटा शिविरमा बसेका छन् । सरकारले उनीहरुलाई आधारभूत सामाग्री उपलब्ध गराईरहेपनि धेरैजसो मानिस खाद्यान्न र खानेपानीको समस्या झेल्न बाध्य भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सरकारले हिंसामा जातीय समूहको संलग्नता रहेको बताएको छ । राज्य सरकारले हिंसा भड्काउन खोज्नेलाई देख्ने बित्तिकै गोली हान्न आदेश दिईएको छ ।

साउदी अरबमा अलपत्र नेपालीको अवस्था जटिल


काठमाडौ, साउन ११ – 
साउदी अरबमा तीन महिनादेखि अलपत्र परेका ५९ जना नेपाली कामदारको अवस्था जटिल बनेको छ । नेपाली दुतावास मार्फत परराष्ट्र मन्त्रालयमा खबर गरेपनि आफूहरुलाई कसैले पनि वास्ता नगरेको पीडित नेपालीहरुले गुनासो गरेका छन् । खाना, बस्न र हिडडुल गर्न समेत समस्या परेको उनीहरुले बताएका छन् ।
अलपत्र परेका मध्ये ३ जना बिरामी परेका पीडित शंकर पाण्डेले फोन मार्फत जानकारी दिनुभयो । काठमाडौ नयाँ बानेश्वरमा रहेको नविल ओभरसिस मार्फत अरेबिया मेन्टिनेन्स कम्पनीमा कामका लागि उनीहरु तीन महिनाअघि पुगेका थिए ।

ओलम्पिक आयोजक समितिले उत्तरकोरियासंग माफी माग्यो


साउन ११ –
 उत्तर कोरियाली खेलाडी मैदानमा उत्रिदा दक्षिण कोरियाको झण्डा प्रदर्शन गरेकोमा लण्डन ओलम्पिक आयोजक समितिले माफी मागेको छ । प्राविधिक गडबडीका कारण त्यस्तो हुन गएको भन्दै समितिले उत्तरकोरियासंग माफी माग्दै आउँदा दिनमा त्यस्ता गल्ती दोहोरिन नदिने प्रतिबद्धता जनाएको छ ।
कोरियाली महिला फुटबल खेलाडीहरु मैदानमा उत्रिंदा त्यहाँ रहेका टिभी स्क्रीनमा दक्षिण कोरियाली झण्डा देखाईएपछि खेलाडीहरुले विरोध जनाउँदै मैदान छोडेर बाहिरिएका थिए ।
आयोजक समितिले गल्ती स्वीकार गर्दै टिमका हरेक खेलाडीको तस्बिर उत्तरकोरियाली झण्डासंगै स्क्रीनमा देखाउने भएपछि मात्रै खेलाडी मैदानमा उत्रिएका थिए । खेलाडीको विरोधका कारण कोलम्बिया र उत्तरकोरियाबीचको खेल एक घण्टा ढिलो शुरु भएको थियो ।

लमजुङमा हलोक्रान्ति दिवस मनाइँदै


आश गुरुङ/ लमजुङ, साउन ११ – 
लमजुङको दुराडाँडा गाउँ विकास समिति वडा नम्बर ६ को अर्चल्यानी बाटेगरामा बिहीबार ६३ औँ हलोक्रान्ति दिवस मनाइँदै छ । हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठान दुराडाँडाको पहलमा हलो क्रान्ति दिवस मनाउन लागिएको हो ।
देशमा प्रजातन्त्रको उदय हुनुअघि अर्थात विक्रम संम्बत २००६ साल साउन ११ गतेका दिन लमजुङको दुराडाँडा ६, अर्चल्यानीमा पण्डित तोयानाथ अधिकारीको अगुवाईमा लेप्टेन शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, श्रीकान्त अधिकारी, मायानाथ पौडेल लगायत २७ जना बाहुनहरुले पहिलोपटक सामुहिक रुपमा हलो जोतेका थिए ।
पहिलोपटक ब्राम्हण समुदायका ब्यक्तिहरुले हलो जोतेर क्रान्तिकारी काम गरेको सम्झनामा दुराडाँडाको अर्चल्यानी बाटेगरामा हरेक वर्ष हलोक्रान्ति दिवस मनाउने गरिन्छ ।
राणा सरकारको तानाशाही संस्कारसंगै मौलाएको बाहुनवाद त्यागेर किसानहरुको पक्षमा हलो क्रान्तिको शुरुवात गरेको भन्दै पण्डित तोयानाथ लगायतलाई क्रान्तिकारी घोषणा गर्न स्थानीय वासिन्दाले सरकारसंग माग गर्दै आएका छन् ।
लमजुङको दुराडाँडामा २००६ साल साउन ११ गते बाहुनले हलो जोतेपछि अन्य जिल्लामा पनि यसले ब्यापक रुप लिएको थियो । २००६ सालकै पुसमा तनहुँ, फागुनमा कास्की र धादिङ, २००७ साल वैशाखमा अर्घाखाँची र गोरखा साथै २००८ सालमा स्याङ्जामा पनि हलो जोत्ने अभियान शुरु भएको थियो ।

काठमाडौमा रात्रीवस सञ्चालनको तयारी अन्तिम चरणमा


काठमाडौ, साउन ११ – 
काठमाडौ उपत्यकामा रात्री बस सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । रात्रीकालीन बसमा एकरुपताका लागि एउटै रंग बनाउने, सडक बत्तिको व्यवस्था गर्ने काम लगभग सकिन लागेको रात्री बस सञ्चालन तथा व्यवस्थापन कार्यदलका सदस्य धर्म रिमालले जानकारी दिनुभयो ।
राती चल्ने बसहरुमा सुरक्षाका लागि सिसिटिभी क्यामरा राख्ने तथा सुरक्षाकर्मीको व्यवस्था गर्ने विषयमा पनि आवश्यक प्रक्रिया अघि बढिसकेको भन्दै उहाँले साउनको २५ गतेसम्म सबै काम पूरा गर्ने गरी तयारी भईरहेको बताउनुभयो ।
काठमाडौ महानगरपालिकाको अवधारणा अनुसार भदौ १ गतेदेखि उपत्यकामा रात्रीबस सञ्चालनका लागि यातायात व्यवसायी, सुरक्षा निकाय लगायतका विषयमा गएको असारमा सम्झौता भएपछि बस सञ्चालन प्रक्रिया शुरु गरिएको हो । परीक्षणका लागि शुरुका ६ महिना बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने र सफल भए समय बढाउने गरी तयारी गरिएको महानगरपालिकाले जनाएको छ ।
शुरुमा चक्रपथ तथा मुख्य ठाउँहरुलाई लक्षित गरी रत्नपार्कलाई मुख्यविन्दु बनाएर १४ वटा बस सञ्चालन गरिने छ । पहिलो चरणमा रत्नपार्कबाट कलंकी, लगनखेल, कोटेश्वर, बौद्ध, गोंगबु लगायत रुट र चक्रपथमा रात्री बस चल्नेछन् । सुरक्षा, यात्रु तथा चालकको सुविधालाई हेरेर बस सञ्चालनको निश्चित मापदण्ड तोकिएको छ ।
राती ८ देखि ११ बजेसम्म एकजना यात्रु नभएको अवस्थामा पनि तोकिएको रुटमा गाडी चल्नैपर्ने, निश्चित समयमा, तोकिएको स्टपमा पुगी यात्रु ओराल्ने चढाउनुपर्ने सम्झौता भएको महानगरपालिकाले जनाएको छ । यसोगर्दा घाटा हुने भन्दै व्यवसायीले आग्रह गरेपछि महानगरपालिकाले शुरुको ६ महिनाका लागि ४५ लाख रुपैंया उपलब्ध गराउने छ ।

कृषिवालीको विमा गर्ने ब्यवस्था प्रभावकारी बनाइने


काठमाडौ, साउन ११ – नेपाल राष्ट्र बैङ्कले कृषि क्षेत्रमा कर्जा विस्तारका लागि विमा गर्ने व्यवस्था गरेको छ । राष्ट्र बैङ्कले जारी गरेको मौद्रिक नीतिमा कृषि क्षेत्रमा जाने कर्जा विस्तारका लागि बालीको विमा गर्ने व्यवस्थालाई प्रभावकारी रुपमा लागु गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै कृषि क्षेत्र पुनर्कर्जा दर पनि शुन्य दशमलव ५ प्रतिशतले घटाएर ६ प्रतिशत कायम गरेको छ । पशुपंक्षी तथा मत्स्यपालन व्यवसायका लागि बैङ्क तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने कर्जाका लागि समेत पुनर्कर्जा प्रदान गर्ने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ ।
मौद्रिक नीतिमा कृषि क्षेत्रको परिभाषामा कृषि औजार, मल, बीउविजन, पशुपंक्षी–दाना, सिञ्चाई तथा कृषि उत्पादन भण्डारण र तोकिएको कृषि उपज प्रशोधनलाई समेत समेट्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।
राष्ट्र बैंकले कृषि र जलविद्यूतमा कुल कर्जाको १० प्रतिशत अनिवार्य लगानी  गर्नुपर्ने व्यवस्था गरेको छ । यही व्यवस्थाले गत आर्थिक वर्षमा कृषि क्षेत्रमा जाने कर्जा ६० प्रतिशतले बढेको जानकारी पनि दिइएको छ ।

माओवादीको बैठक १७ गतेसम्मलाई स्थगित


काठमाडौ, साउन ११ – 
एकीकृत नेकपा माओवादीको महाधिवेशन आयोजक समितिको बैठक आउँदो १७ गतेसम्म स्थगित भएको छ । बिहीबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले राजनीतिक गतिरोध अन्त्यका लागि दलहरुसंग छलफल गर्नुपर्ने भन्दै महाधिवेशन आयोजक समितिको शुक्रवार बस्ने तय भएको बैठक १७ गतेबस्ने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बताउनुभयो ।
उहाँले आउँदो १७ गतेसम्म शिर्ष नेताहरु अनौपचारिक र औपचारिक रुपमा राजनीतिक गतिरोधको अन्त्यका लागि अरुदलसंग छलफलमा जुट्ने बताउनुभयो । त्यस्तै कार्यालयको बैठकले विभिन्न क्षेत्रको कार्यविभाजन गर्ने र बिस्तारित बैठकले गरेका निर्णयहरु पनि १७ गतेसम्म कार्यान्वयन गर्ने निर्णय भएको श्रेष्ठको भनाई छ ।  
बिस्तारित बैठकमा प्रचण्डले गाडी फिर्ता गर्ने, लाजिम्पाटको निवास छाड्ने, सचिवालय परिवर्तन गर्ने लगायतका घोषणा गर्नुभएको थियो । त्यस्तै आर्थिक पारदर्शिताका लागि आर्थिक विभाग र लेखा शाखा मार्फत काम गर्ने घोषणा भएको थियो ।

बिशिष्टलाई सुविधा दिने सरकारी निर्णयको विरुद्ध आन्दोलन


काठमाडौ, साउन ११ – राष्ट्रपति, प्रधानमन्त्री लगायत पूर्व विशिष्ट पदाधिकारीलाई सुविधा दिने सरकारी निर्णयको बिरोधमा नेपाल नागरिक समाजले आन्दोलन थालेको छ । सरकारी निर्णयको विरोधमा पूर्व प्रशासकहरुले नेतृत्व गरेको समाजले बिहीबार रत्नपार्कमा रिले अनसन शुरु गरेको हो । समाजले निर्णय खारेजी र सरकारी ढुकुटीमाथीको ब्रम्हलुट अत्य गर्नुपर्ने माग गरेको छ ।
रिले अनसन शनिबारसम्म चल्ने समाजले जनाएको छ । अनसनमा वकिल, पत्रकार लगायतले पनि ऐक्यबद्धता जनाएका छन् । पूर्व बिशिष्ट पदाधिकारीलाई सुविधा दिने निर्णय फिर्ता गर्न माग गर्दै समाजका ७२ जिल्लामा रहेका शाखाका तर्फबाट प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने कार्यक्रम पनि छ ।
गरीब राज्यको अर्थतन्त्रले धान्न नसक्ने गरी पूर्व राष्ट्रपतिदेखि पूर्व गृहमन्त्रीसम्मकालाई आजीवन गाडी, इन्धन, मर्मत खर्च, आवास र सचिवालय सुविधा दिन मुलुकको हितमा नरहेकाले खारेज गर्नुपर्ने समाजको माग छ ।

सरकारले खाद्यान्न अभाव समाधान गर्न सकेन : आयोग


काठमाडौ, साउन ११ –
 मुलकको पूर्वी भेग भन्दा मध्य तथा सूदुरपश्चिमका जिल्लाहरुमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । सधैंजसो खाद्यान्न अभाव भईरहँदा पनि त्यसको समाधानका लागि सरकारले ठोस योजना ल्याउन नसकेको आयोगको भनाई छ ।
आयोगका निर्देशक देवप्रसाद भट्टराईका अनुसार नागरिकको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सुनिश्चित गराउन सरकारले खाद्यान्न, स्वास्थ्य र शिक्षामा जोड दिनु आवश्यक छ । हरेक वर्ष आयोगले त्यस क्षेत्रको खाद्य अवस्थाका बारेमा अनुगमन गरेर सरकारको ध्यानाकर्षण  गराउनेगरे पनि त्यसको उपलव्धी प्रायः शून्य भएको उहाँले बताउनुभयो ।
रुकुम, रोल्पा, अछाम, बाजुरा लगायतका जिल्लाका नागरिक हरेक वर्ष भोकभरीको शिकार हुने गरेको आयोगको अनुसन्धान महाशाखा अन्तर्गतको आर्थिक सामाजिक तथा साँकृतिक अधिकार सम्बन्धि इकाईले जनाएको छ । आर्थिक, सामाजिक तथा साँस्कृतिक पक्षलाई राज्यले मौलिक अधिकारमा सुनिश्चित गरेपनि व्यवहारमा भने त्यो कार्यान्वयन हुन नसकेको इकाईको भनाई छ ।

पर्वतमा अझै ३० प्रतिशत रोपाँई बाँकी


दुर्गाप्रसाद शर्मा ।
 पर्वत, साउन ११–
 ढिलो गरी मनसुन शुरु भएकाले पर्वतमा अझै ३० प्रतिशत खेतमा रोपाँई हुन सकेको छैन । सिञ्चाईको सुविधा पुगेका ७० प्रतिशत खेतमा रोपाँई गरिसकिएको भएपनि आकासे पानीको भर पर्नुपर्ने र मकैवाली लगाएको खेतमा अझै रोपाँई हुन बाँकी रहेको कृषि कार्यालयले जनाएको छ । साउनको दोस्रो हप्तासम्म रोपाँई गर्न पुग्नेगरी पानी नआएकोमा किसानहरु चिन्तित छन् ।
कृषि कार्यालयका अनुसार गएको बर्ष साउनको पहिलो हप्तामा ९० प्रतिशत रोपाँई भैसकेको थियो । तर यस बर्ष मनसुन ढिलो गरी शुरु भएकाले रोपाँई सकिन अझै १० दिन लाग्ने कार्यालयका प्रमुख चन्द्रकान्त खनालले जानकारी दिनुभयो  ।
जिल्लाको मुख्य धान उत्पादन हुने क्षेत्रमा अझै पनि रोपाँई हुन सकेको छैन । कटुवाचौपारी, देविस्थान, मुडिकुवा, खानीगाउँ, बर्राचौर, त्रिवेणी, पाङ लगायतका क्षेत्रहरुमा रोपाई बल्ल शुरु भएको खनालले बताउनुभयो । ‘मकै लगाएका खेतमा अब १० दिनभित्र रोपाँई सकिन्छ’ उहाँले भन्नुभयो । खोला किनार र सिञ्चाई सुबिधा पुगेका केही खेतमा किसानहरुले असार महिनामै रोपाँई गरिसकेका छन् ।
उन्नत जातको धान लगाउनेहरुले असारमै रोपिसकेका छन् । स्थानीय जातको धान साउन १५ सम्ममा रोप्दा उत्पादनमा कुनै असर नपर्ने कार्यालयले जनाएको छ । पर्वतमा धान फल्ने ९ हजार २१ हेक्टर जमिन रहेको छ । त्यसमध्ये बाह्रै महिना सिञ्चाईको सुबिधा पुगेको ६ हजार ८ सय हेक्टर जमिन रहेको छ ।

होटल तथा रेष्टुरेण्टहरुमा यौन व्यवसाय संचालन गर्ने पक्राउ

काठमाडौं, साउन

काठमाडौंको पुरानो बसपार्क क्षेत्रका विभिन्न होटलमा छापामारी प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुरानो बसपार्क एरियामा रहेको हिमचुली गेष्ट हाउस, डाईमण्ड रेष्टुरेण्ट र नौलो होटल पुकारका संचालक सहितका ९ जना रहेका प्रहरीले जनाएको छ ।

 होटल तथा रेष्टुरण्टमा गैह्र कानूनी रुपमा संचालकहरुले यौन धन्दा गराई समाजमा नै बिकृती फैलाउने खालका कार्यहरु गराउने गरेको भन्ने जनगुनासो आई त्यस्ता होटल तथा लजहरुमा सामुदायीक प्रहरी तथा महानगरीय प्रहरी परिसर काठमाडौंबाट सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद होटल तथा लजहरुमा चेकजाँच गर्ने कामलाई तिव्रता दिइएको र त्यही क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

मौद्रिक नीति सार्वजनिक


कमल पराजुली । 
काठमाडौं, साउन १० 
- नेपाल राष्ट्र बैकले आर्थिक बृद्धिदर साढे पाँच प्रतिशत पुर्‍याउने र मुल्यबृद्धि साढे सात प्रतिशतमा राख्ने सरकारी लक्ष्यलाई सघाउने उद्देश्यसहित चालु आर्थिक बर्षको लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैकका गभर्नर डाक्टर युवराज खतिवडाले मौद्रिक नीति सार्वजनिक गर्दै पुर्ण बजेटको अभावमा पनि मौद्रिक नीतिले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउदै अर्थतन्त्रलाई सहि बाटो दिन सघाउने बिश्वास दिलाउनुभयो ।
मौद्रिक नीतिले बैंकहरुले राष्ट्र बैंकमा राख्नु पर्ने अनिवार्य नगद मौज्दात सिआरआर १ प्रतिशतले बढाएको छ । नयाँ ब्यवस्था अनुसार अब बाणिज्य बैंकहरुले ६ प्रतिशत, विकास बैंकले साढे ५ प्रतिशत र लघुवित्त बिकास बैकले ५ प्रतिशत अनिवार्य नगद मौज्दात राख्नुपर्नेछ । बैकहरुमा अहिले तरल सम्पत्ति प्रयाप्त रहेकोले सिआरआर बढाईएको गभर्नर खतिवडाले बताउनुभयो । यस्तै मौद्रिक नीति मार्फत राष्ट्र बैंकले असल कर्जाको धितोमा जाने पुनकर्जालाई खुकुलो बनाएको छ । कृषि र जलविद्युत र अन्य क्षेत्रमा जाने पुर्नकर्जाको एउटै दर ६ प्रतिशत कायम गरेको गरिएको गभर्नर खतिवडाले बताउनुभयो ।
यस्तै मौद्रिक नीतिले बैकहरुले विपन्न वर्गमा प्रवाह गर्नुपर्ने कर्जा सिमा बढाईएको छ । अब लघुबित्त बिकास बैक मार्फत बिपन्न बर्गमा बाणिज्य बैकले कुल कर्जाको ४ प्रतिशत, विकास बैकले साढे ३ प्रतिशत र बित्त कम्पनिले ३ प्रतिशत लगानी गर्नुपर्ने छ । राष्ट्र बैकले बैक तथा बित्तिय सस्था खोल्न लगाईएको रोकलाई यथावत राखेको छ ।
यस्तै राष्ट्र बैकले बित्तिय सस्थाको कर्जा र ब्याजदरको अन्तर नियमित अनुगमन गर्ने र आबश्यक स्तर भन्दा धेरै भए कारबाहि गर्ने नीति ल्याएको छ । यस्तै मौद्रिक नीतिले बित्तिय सस्थालाई गरिने सिघ्र सुधारात्मक कारबाहि अर्थात पिसिए को दायरा बढाएको छ । यसअघि पुँजीकोषको आधारमा पिसिए लगाउने गरिएकोमा अब तरलता र निष्कृय सम्पतिको समेत आधारमा पिसिए लगाउने ब्यबस्था गरिएको छ ।
यस्तै मौद्रिक नीतिले नेपालीलाई बिदेशमा लगानी गर्ने नीति ल्याउने जनाएको छ । यसको लागि औचित्यताको आधारमा काम अघि बढाईने र भारत दक्षिण कोरिया लगायतका मुलुकबाट आउने रेमिट्यान्सलाई औपचारिक माध्यममा ल्याउन ति मुलुकहरुमा नेपाली बैकका शाखा खोल्न प्रोत्सहान गर्ने र बित्तिय सस्थाहरुमा रहेको निक्षेप बिमा बढाएर ३ लाख सम्म पुर्‍याउने नीति मौद्रिक नीतिले लिएको छ । त्यस्तै मौद्रिक नीतिले बिदेशी मुद्रा सटहिको दायरा बढाएको छ ।
मौद्रिक नीति सार्बजनिक गर्दै गभनर खतिवडाले घरजग्गा र शेयरमा भएको लगानी नउठेर सिथिल अबस्थामा रहेको बित्तीय क्षेत्रलाई मौद्रिक नीतिले नयाँ उर्जा दिने बताउनुभयो । तर राष्ट्र बैकले ल्याएको नयाँ मौद्रिक नीतिले बित्तिय क्षेत्रको समस्या समाधान गर्न नसकेको भन्दै बैकरहरुले भने असन्टुष्टि जनाएका छन् । नेपाल बैकर्स एसोसिएसनका उपाध्यक्ष तथा सिटिजन्स बैक ईन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत राजनसिह भण्डारीले अनिर्वाय नगद मौज्दात सिआरआर बढाईएकोले बित्तिय क्षेत्रमा फेरी समस्या आउने बताउनुभयो ।
यस्तै निजी क्षेत्रले पनि मौद्रिक नीतिबाट धेरै उत्साहित हुनुपर्ने अबस्था नरहेको बताएको छ । नेपाल उद्योग बाणिज्य महासघका उपाध्यक्ष पशुपती मुरारकाले ब्याज घट्ने अबस्थाको सृजना मौद्रिक नीतिले कुनै नयाँ कुरा नल्याएको बताउनुभयो ।
यसैबीच अर्थमन्त्रालयले राष्ट्र बैकले ल्याएको मौद्रिक नीति सरकारले लिएको बित्तीय नीतिकै उध्येक्ष्य अनुरुप भएको बताएको छ । मौद्रिक नीति सार्बजनिक कार्यक्रममा अर्थसचिब कृष्णहरि बास्कोटाले सरकारले छिट्टै पुर्ण बजेट ल्याउने र त्यसलाई पुरा गर्न मौद्रिक नीतिमा गरिएको ब्यवस्थाले सहयोग गर्ने बताउनुभयो ।

बिरामी लिन आएको हेलिकोप्टर खोटाङमै रोकियो

दमन राई/ 
 खोटाङ, साउन–
 बिरामी लिन खोटाङ आएको हेलिकोप्टर खराब मौसमका कारण दिक्तेलमै रोकिएको छ । उच्चरक्तचापबाट बिरामी परेका दिक्तेल २ का व्यवसायी डिजेन्द्र जोशीलाई लिन आएको हेलिकप्टर खराब मौसमका कारण सदरमुकाम दिक्तेलमा रोकिएको हो ।
वर्षातसँगै बाक्लो कुहिरो लागेपछि बिहान ८ बजे बिरामी लिन आएको डाईनास्टी हेलिकोप्टर बुधबार दिक्तेलस्थित हेलीप्याडमा बास परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बशन्तकुमार थापाले बताउनु भयो । अस्पताल दिक्तेलले रेफर गरेको बिरामी जोशीलाई हेलिकोप्टर उडान हुन नसकेपछि पुःन फर्काएर अस्पतालमै राखिएको छ ।
जिल्लामा भरपर्दो यातायात सेवा सञ्चालन नहुँदा अस्पतालले रेफर गरेका बिरामीहरुलाई अन्यत्र लैजानाका लागि हेलिकोप्टरको प्रयोग गरिँदै आईएको छ ।

मालढुंगा–बेनी सडकमा भाडादर आधा घट्यो


दुर्गाप्रसाद शर्मा । पर्वत, साउन 
 पर्वतको मालढुंगादेखि म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने मालढुंगा–बेनी सडकमा सार्वजनिक सवारी साधनमा भाडादर आधा घटेको छ । पर्वत, बागलुङ र म्याग्दीका सुरक्षा निकायका प्रमुख तथा यातयात व्यावसायीको बुधबार बसेको संयुक्त बैठकले भाडादर समायोजन गरेको हो ।
मालढुंगा–बेनी सडकमा ४० रुपैयाँ भाडादर कायम गरिएको छ । नयाँ भाडादर शुक्रबारदेखि लागु हुने छ । मालढुंगा देखि बेनीसम्म १५ किलोमिटर सडकमा यातयात व्यावसायीले ८० देखि १ सय २० रुपैयाँसम्म भाडा लिँदै आएका थिए ।
बाटो कच्ची हुँदा दुई बर्ष पहिले लागु गरिएको भाडादर  सडक पुरै पक्की बनीसक्दा समेत नघटाईएपछि यात्रुले बिरोध जनाउँदै आएका थिए । भाडादर समायोजनका लागि यात्रुबाट दवाव बढेपछि नयाँ भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताउनुभयो ।
‘जम्मा १३ किलोमिटरमा मनपरी रुपमा चर्को भाडा लिएको गुनासो आएपछि नयाँ भाडादर कायम गरिएको हो’, उहाँले भन्नुभयो ।

एपिएफ महिला फुटबलको फाइनलमा


रौतहट, साउन 
शसस्त्र प्रहरीको एपिएफ क्लव राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०६९ को फाइनलमा पुगेको छ । रौतहटको चन्द्रनिगाहपुरमा वुधवार सम्पन्न कैलालीलाई शुन्यको बिरुद्ध ४ गोलले पराजित गरी एपिएफ फाईनलमा पुगेको हो । शसस्त्र प्रहरी बल महिला टिमको तर्फबाट जर्सी नं. ७ की जमुना गुरुङ्गले पहिलो हाफको इन्जुरी समयमा र ८३ औं मिनेटमा गरी २ गोल गरिन् ।
यस्तै अनु लामाले ५२ औं र प्रमिला राईले ५७ औं मिनेटमा एक एक गोल थपे । एपिएफले उपाधिका लाग नेपाल पुलिस र नेपाल आर्मी क्लवबीच विहीबार हुने खेलको विजेतासित प्रतिस्पर्धा गर्ने छ । पुलिस र आर्मीबीचको खेल विहीवार दिउँसो ४ बजे बाराको सिमरामा हुने छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद तीन लाख रुपैया द्धितिय हुने टिमलाई एक लाख पचास हजार रुपैंया र सेमिफाईनल खेल्ने दुबै टिमलाई पचास–पचास हजार रुपैया पुरस्कार प्रदान गरिनेछ भने प्रतियोगितामा उत्कृष्ट गोल किपर, डिफेन्स, मिडफिल्ड र फरवार्ड तथा प्रशिक्षकलाई जनही पचास हजार रुपैया र प्रतियोगिताको सबै भन्दा उत्कृष्ट खेलाडीलाई स्कुटी प्रदान गरिनेछ ।

१० दिनपछि मृत फेला


बाग्लुङ, साउन 
बागलुङको बुर्तिबाङका एक व्यक्ति सम्र्पकबिहिन भएको १० दिनपछि मृत अवस्थामा फेला परेका छन् । गत साउन १ गतेदेखि सम्र्पकबिहिन भएका बुर्तिबाङ गाविस वडा नं ३ खल्बाङ निबासी २४ बर्षिय मिनबहादुर कुमाल वुधवार विहान भुजिखोला लघुजलविद्युत आयोजना नजिकै खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
विगत ७ महिनादेखि अधिकारीचौर स्थित शालिन्द्र घर्तीको घरमा मजदुरको रुपमा काम गर्दै आउनुभएको थियो । आपसी घर झगडाका कारण घरबाट निक्लिएका उहाँको मृत्युको कारण खुल्न सकेको छैन ।
घटनाबारे अनुसन्धानका लागि मृतक कुमालको शवलाई बुर्तिबाङ ल्याईएको  ईलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

पूर्वमन्त्री जोशी भ्रष्टाचारी ठहर, डेढ वर्ष कैद र २ करोड १६ लाख जरिवाना


काठमाडौं, साउन 
 विशेष अदालतले काँग्रेस नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीले सार्वजनिक पदमा रहँदा भ्रष्टचार गरेको ठहर गर्दै डेढ बर्ष कैद तथा २ करोड १६ लाख  १४ हजार बिगो तथा त्यति नै जरिवाना तिराउने फैसला गरेको छ ।  विशेषका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले पूर्वमन्त्री जोशीलाई भ्रष्टाचारी ठहर गर्दै कैद फैसला सुनाएको हो ।
‘प्रतिवादी गोविन्दराज जोशीको आय र सम्पत्तिको जाँच अवधि २०४८ देखि २०५९।२।८ सम्मको हिसाब किताब गर्दा सो अवधिमा निज र निजको परिवारका नाममा वैध आय रु. ५१,९४,६१८।८३ र सोही अवधिमा निजले आर्जन गरेको रु. २,६८,०८,९९५।२४ बराबरको सम्पत्ति रहे भएको देखिँदा रु.२,१६,१४,३७६।४१ को श्रोत नपुगेकोले निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३,७(१),१५ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को कसूर गरको ठहर्छ’, आदालतको फैसलामा भनिएको छ ।
‘सो ठहर्नाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम निजलाई कैद वर्ष १ (एक) र निज मन्त्री समेतको पदाधिकारी रहेबाट सोही ऐनको दफा २४ बमोजिम थप कैद ६ (छ) महिना समेत जम्मा कैद १।६ (एक वर्ष छ महिना) र विगो बमोजिम रु. २,१६,१४,३७६।४१ जरिवाना हुन्छ’, फैसलामा भनिएको छ, ‘साथै गैरकानूनी रुपमा आर्जित तपसीलमा लेखिए बमोजिमका सम्पत्ति समेत जफत हुन्छ ।’
यसअघि हदम्याद नाघेको भन्दै सफाई दिने विशेष अदालतको निर्णय उल्टाउँदै सर्वोच्च अदालतले सुनुवाई गर्ने विशेष अदालतमा नै पठाएको थियो । मन्त्री जोशी ३ पटक गृहमन्त्रीसहित सात पटक मन्त्री भएका थिए ।
अख्तियारले विशेषमा अदालतमा दायर गरेको मुद्धामा जोशीको २०५० सालसम्म आर्थिक क्रियाकलाप सामान्य रहेको र जोशी सांसद एवं मन्त्री पदमा बहालभएदेखि नै घरजग्गा खरीद विक्री एवं आर्थिक कारोवारमा अमिल्दो तथा अस्वाभाविक बृद्धि भएको उल्लेख गरेको थियो ।  
जोशीले तोकिएको समयभित्र सर्वोच्च अदालतमा पूनरावेदन नगरे प्रहरीले उनलाई गिरफ्तार गर्न सक्नेछ ।
को हुन् गोविन्दराज जोशी?
तनहुँ जिल्लाको रुपाकोट गाविस, खाल्टेमा २००६ सालमा जन्मिएका जोशी विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएका हुन् । राजनीति शास्त्रमा स्नातकोत्तर गरेका जोशीले विएल र विएड् समेत गरेका छन् । विपी कोइरालालाई आफ्नो आदर्श मान्ने जोशी २०४८ सालदेखि २०५१ तथा २०५६ सालमा तनहुँ जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइ विभिन्न मन्त्रालयहरुमा मन्त्री पदमा थिए ।
विभिन्न विद्यालयमा शिक्षकका रुपमा काम गरेका जोशी तनहुँको भानुभक्त वहुमुखी क्याम्पसका संस्थापक समेत हुन् । कानुन पढेका जोशी १२ वर्षसम्म नेपाल बार एसोसिएसन र एम्नेस्टी इन्टरनेसनलमा समेत आवद्ध थिए । २०४६ सालमा प्रजातन्त्र पूनःस्थापनाको आन्दोलनका क्रममा जोशी साढे तीन र्वा जेल परेका थिए ।
जोशीका दुई छोरा र एक छोरी छन् । –जोशीको वेबसाइटबाट

आमा छोरीको हत्यामा संलग्न १ पक्राउ


वीरगञ्ज, साउन 
 - मकवानपुरको भैँसे गाविस–२ स्थित कालिकाटारका आमाछोरीको हत्यामा संलग्न एक जना आरोपी पर्साको बिजयबस्तीमा वुधवार पक्राउ परेका छन । मकवानपुर जिल्लाको हाडीखोला ४ निवासी पासाङ लामालाई बिजयबस्ती प्रहरी चौकीका असई ताहिर हुसेनको टोलीले पक्राउ गरेको हो ।
निर्मलवस्ती गाविसको गम्बालाईनमा आफन्तको घरमा लुकीछिपी बसेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको असई हुसेनले बताउनुभयो ।  गत असार २८ गते मकवानपुरको भैसे २ कालिकाटारमा घरमा सुतिरहेको अवस्थामा ५७ वर्षीया चन्द्रमाया थापा र उनकी ३७ वर्षीया छोरी लक्ष्मी थापाको हात खुट्टा बाँधेर विभत्स हत्या भएको थियो ।
हत्या गर्ने समुहले ३ लाख नगद गरगहना र लत्ताकपडा समेत लुटेर भागेका थिए । हत्यमा संलग्न रहेको आरोपमा मकवानपुर प्रहरीले ६ जनालाई यसअघि नै पक्राउ गरेपनि लामा भने फरार थिए |
यो पनि पढ्नुहोस :आमा छोरीको हत्यामा संलग्न ६ जना पक्राउ

महिला बेपत्ता हुने क्रम बढ्दो

 नेपालगन्ज, साउन 
मानव बेचबिखन विरुद्ध कार्यरत माइती नेपाल नेपालगन्जमा वेपत्ता महिलाको खोजतलासका लागि पर्ने निवेदनहरु बर्षेनी बढ्दै गएका छन् । आर्थिक बर्ष २०६७÷६८ मा खोजतालसका लागि २ सय ९५ निवेदन परेका थिए भने आर्थिक बर्ष २०६८÷६९ मा बढेर ३ सय ३२ पुगेका छन् । माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले खाडीमुलुक तथा भारतमा बेपत्ता भएको भन्दै खोजीका लागि बढी निवेदन परेको जानकारी दिनुभयो । 

माइती नेपालले गत आर्थिक वर्षमा हराएको निवेदन परेका मध्ये ३१ जना फेला परेको जनाएको छ । वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने धेरै नेपाली महिलाहरु बेपत्ता हुने गरेका छन् । कामका लागि मध्यपश्चिमबाट खाडी मुलुक गएका महिलाहरु बेपत्ता हुनेक्रम बढ्को माइती नेपाल नेपालगन्जले जनाएको छ । माइती नेपालले गत आर्थिक वर्षमा २ सय ४५ जना जोखिमपूर्ण यात्रामा रहेकाहरुलाई उद्धार गरि आवधिक गृहमा प्रवेश गराइएको जनाएको छ । यसैगरी २ सय ५५ जनालाई सुरक्षित बसाइ सराइबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइएको माइती नेपालले जनाएको छ । श्रम तथा यौन शोषणमा परेका १४ जनाको उद्धार गरिएको छ । यसैगरि ५७ जनालाई परामर्श दिई सीमाबाट घर फर्काइएको छ

राज्यकोष दुरुपयोग

श्रावण १० - 
सरकारले अध्यादेशमार्फत पूर्वविशिष्ट पदाधिकारीहरूलाई विलासी गाडीसहित आजीवन आवास सुविधा व्यवस्था गरेपछि त्यसको चौतर्फी विरोध हुन थालेको छ । मुलुकको अर्थतन्त्र नसुहाउँदो गरी व्यवस्था भएको त्यो सुविधा तत्काल खारेज गर्न माग उठिरहेको छ । पूर्वप्रशासकहरूले नेतृत्व गरेको नेपाल नागरिक समाजले विलासी गाडी र आवास सुविधा खारेजीको माग राख्दै गरेको आन्दोलन सरकारी निर्णयप्रतिको असन्तुष्टिको नतिजा हो । समाजले चरणबद्ध रूपमा आन्दोलन घोषणा गर्दै बिहीबारदेखि रत्नपार्कमा रिले अनशन थाल्ने भएको छ । उसको यो आन्दोलनमा विभिन्न पेसागत संघ/संगठनले ऐक्यबद्धता जनाएका छन् । सरकारले मनोमानी ढंगले पूर्वविशिष्ट व्यक्तिहरूलाई राज्यको क्षमता नहेरी जसरी सुविधा उपलब्ध गराउने व्यवस्था गर्‍यो, त्यसको संस्थागत रूपमै विरोध हुनु आवश्यक थियो । प्रमुख राजनीतिक दलसहितको नेतृत्वले मौनता साधिरहँदा नागरिक समाजका तर्फबाट सुरु भएको यो विरोध सकारात्मक छ । लोकतान्त्रिक मूल्य र मान्यताभित्र रही सरकारले गरेको यो अनुचित निर्णय खारेज गर्न समाजका अरू तप्काबाट पनि थप दबाब आउनु आवश्यक छ । 

पूर्वविशिष्ट व्यक्तिलाई राज्यले आवश्यक पर्दा सुरक्षालगायत केही आधारभूत सुविधा उपलब्ध गराउनु अनुचित होइन । तर, यसरी सुविधा दिने नाममा राज्यको क्षमताले नभ्याउने गरी मनपरी व्यवस्था र वितरण गर्नु उचित मान्न सकिँदैन । यो सुविधा उपलब्ध गराउने नाममा राज्य ढुकुटीको हदैसम्मको दुरुपयोग हो । एक त सरकारले अध्यादेशमार्फत पूर्वविशिष्ट व्यक्तिलाई सुविधा उपलब्ध गराउने कुरामा हतार गर्नु आवश्यक थिएन । जनप्रतिनिधिमूलक निर्वाचित निकाय अर्थात् संसद् भएका बेला यस्ता कानुनी व्यवस्थामाथि आवश्यक छलफल गरेर कानुन बनाई यस्तो व्यवस्था लागू गर्नुपथ्र्यो । अदालतले पनि कानुन बनाएर मात्रै सुविधा उपलब्ध गराऊ भनेको हो । तर गठबन्धन सरकारले पूर्वविशिष्ट व्यक्तिलाई खुसी पार्ने ध्येयले संसद् नभएका बेला अध्यादेशमार्फत सुविधा उपलब्ध गराएको छ । नियमकानुनबिनै जथाभावी सुविधा वितरण भइरहेको पृष्ठभूमिमा कानुनी व्यवस्था गरेर वितरण गरिनु अन्यथा नहोला यद्यपि संसद्मा छलफल भई व्यवस्था हुनुपर्ने विषयमा राष्ट्रिय ढुकुटीको दुरुपयोग गर्ने नियत राख्नु जायज होइन । आफूलाई मितव्ययी देखाउन भरमग्दुर प्रयासरत बाबुराम भट्टराई नेतृत्वको सरकारले यस्तो निर्णय गर्नु झनै आश्चर्यलाग्दो हो । यसले उनको भनाइ र गराइमा आकाशजमिनको फरक रहेको प्रस्ट पारेको छ । 

अध्यादेशमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीलाई आजीवन विलासी गाडी, चालक, इन्धन र मर्मत खर्च मात्रै दिइएको छैन, अतिथि सत्कार तथा मसलन्द खर्च, महिनाको ५० हजार रुपैयाँका दरले आवास सुविधा, शाखा अधिकृत, दुई सहायक र दुई सहयोगी रहेको सचिवालय दिने व्यवस्थासमेत गरेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालले यस्तो सुविधा लिइसकेका छन् । राजधानीमा घर र निजी गाडी भएका देउवा, चन्द, थापा, नेपाल र खनालले पनि आवास र गाडी सुविधा लिएका छन् । सुविधा लिनेमा पूर्वप्रधानन्याधीशहरू, पूर्वसभामुखहरू, पूर्वगृहमन्त्रीहरूको लामै सूची छ । सहमति गर्न आनाकानी गरिरहने हाम्रो नेतृत्वले राज्यकोषबाट सुविधा लिनचाहिं कहिल्यै असहमति र विरोध गर्ने रहेनछ भन्ने यसबाट पुष्टि हुन्छ । आफूअनुकूल मापदण्ड बनाउने अनि त्यहीसमेत मिचेर शक्तिका आडमा राज्यको सम्पत्ति दुरुपयोग गरी सुविधा लिने र दिने दुवै प्रवृत्ति आलोच्य छ । यो मितव्ययिताको ढोंग गर्ने सरकार र प्रमुख राजनीतिक नेतृत्वको मिचाहा प्रवृत्तिको उदाहरण हो । सारा नेपालीको पसिना मिसिएको राज्यकोषबाट धान्नै नसक्ने सुविधा लिने र थाप्लामा हरदिन ऋणको बोझ थप्ने अधिकार कसैलाई छैन । त्यसकारण अनावश्यक, महँगो र विलासी सुविधा लिएर राज्यको ढुकुटी दुरुपयोग रोक्नुपर्छ ।
-By Kantipur